एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, लाभांश प्रस्ताव पारित हुने

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारणसभा आज असोज १३ गते बस्दैछ । सभा बाराको सिमरा स्थित होटेल क्लासिकमा बिहान ११:३० बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.२६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशतले हुन आउने नगद लाभांश छ।

सभाले बोनस सेयरपश्चातको हालसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०:४० अनुपातलाई बीमा समितिको स्वीकृतिपश्चात परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र तदनुरुप प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते बुक क्लोज गरेको छ । यसको अर्थ असोज ३ गते सम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

Comments

Back to top