हङकङका व्यवसायहरू क्वारेन्टाइन समाप्त भएपछि पूर्ण रूपमा खुल्दै !

हङकङले आगमनको लागि होटल क्वारेन्टाइनको शर्त हटाए पछि  यात्रीहरूमाथि बाँकी प्रतिबन्धहरू पनि हटाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय वित्तीय हबको रूपमा यसको भाग्यलाई पुनर्जीवित गर्न यो व्यवस्था अत्यन्त जरुरी रहेको त्यहाँका व्यवसायीहरुले बताएका छन् ।

व्यापारिक समूह र विश्लेषकहरूले यस कदमको स्वागत गरे पनि सरकारले पूर्ण रूपमा बजार खोल्नका लागि स्पष्ट रोडम्याप प्रदान गर्न आवश्यक रहेको उनीहरुले बताएका छन्। झण्डै तीन वर्षको महामारीप्रतिबन्धले हङकङको अर्थतन्त्रलाई तहसनहस बनाएको छ । त्यहाँका बासिन्दा तथा व्यवसायी विदेश जान बाध्य भएका छन् । एक प्रतिवेदनले सिंगापुरले यस शहरलाई उछिनेर एसियाको सबैभन्दा ठूलो वित्तीय केन्द्र बन्न सफल भएको देखाएको छ ।

हङकङका नेता जोन लीले हङकङ जाने यात्रुले अब होटल क्वारेन्टाइनमा बस्नु नपर्ने वा प्रस्थान गर्नुअघि पीसीआर परीक्षण गर्नु नपर्ने बताएका छन् । यसको साटो तीन दिनसम्म बारमा जान वा रेस्टुरेन्टमा खाना खान रोक लगाइनेछ भने सात दिनसम्म दैनिक परीक्षण गर्नुपर्नेछ । यदि उनीहरुमा संक्रमण पुष्टि भएमा कम्तिमा सात दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ ।

हङकङ इन्भेस्टमेन्ट फण्ड्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत स्याली वोङले भने, "यो छूट स्वागतयोग्य छ किनभने यसले ठूलो सुधारको प्रतिनिधित्व गर्दछ, तर अब सरकारले सबै प्रतिबन्धहरू हटाउन पर्छ ताकि हामी पुन: अन्तर्राष्ट्रिय वित्तीय केन्द्रहरूको बराबरी गर्न सक्छौँ ।"

अहिले हङकङ बासिन्दाहरूको पलायनबाट पीडित छ । यसको जनसंख्या कम्तिमा छ दशकमा सबैभन्दा धेरै यही वर्षमा घटेको छ। ब्रेन ड्रेनको पछिल्लो संकेतमा, हङकङ इन्भेस्टमेन्ट फन्ड्स एसोसिएशनले गरेको एक सर्वेक्षणले, एक तिहाई भन्दा बढी कोष-व्यवस्थापन कम्पनीहरू यस शहरबाट अन्य स्थानहरूमा स्थानान्तरण गरेको देखाएको छ।

शहरको बेन्चमार्क स्टक इन्डेक्स एक दशकमा सबैभन्दा कम हुँदा लगानीकर्ताहरू पनि निराश भएका छन्।

Comments

Back to top