युरोपमा गर्मीको कारणले खानाको गुणस्तर खस्किँदै!

चरम गर्मीको लहरले फ्रान्स, पोर्चुगल, स्पेन, इटालीलगायतका युरोपेली देशमा अन्न र खानाको गुणस्तर बिग्रिएको अधिकारीहरुले बताएका छन्। खासगरी फ्रान्सको विश्व प्रसिद्ध चिज, वाइन र स्याम्पेन, स्पेनिस जामन, इटालीको मोजरेल्ला, पोर्चुगलको जैतुन र पोर्तो वाइन जस्ता युरोपका क्षेत्रीय विशेषतासहितको उत्पादन खतरामा परेको जनाइएको छ। 

स्पेनका कृषि, ग्रामीण विकास र जनसंख्या क्षेत्रीय मन्त्री बेगोना गार्सिया बर्नालले गर्मिसंगैको तीव्र खडेरीले युरोपका सबै प्रकारका बालीनालीमा क्षति पुगेको बताएका छन्। उनले अनाज, मह,चिज र वाइन उत्पादकहरुले माग धान्न र गुणस्तर सुनिश्चित गर्न संघर्ष गरिरहेको उल्लेख गरे। ईयूको छापअन्तर्गत सुरक्षित रहेकोले ती उत्पादनले गुणस्तर प्रमाणित गर्छन्। तर यो गर्मीयामको खडेरीले त्यसमा ह्रस ल्याएको क्षेत्रीए मन्त्री बर्नालले बताएका हुन्। 

'एक्स्ट्रेमाडुरा स्पेनको सबैभन्दा गरिब क्षेत्र हो, तर यसले विश्व प्रसिद्ध जामुन इबुरियाको ह्याम उत्पादन मारमा परिरहेको छ। फ्रान्सको चिज र इटालीको मोजरेल्ला विश्वमै प्रसिद्ध छ। तर यो वर्षको खडेरीले तोकिएअनुसारको उत्पादन र तिनको गुणस्तर राख् न मुस्किल परेको छ', पत्रकार सम्मेलनमा मन्त्री बर्नालले भने। 

कालो इबेरियन सुँगुरबाट बन्ने विश्व प्रसिद्ध ह्याम उत्पादन गर्न कटुस र सिन्दूर (एर्कोन र ओक ) का दाना खुवाउनपर्छ।  तर गर्मीका कारण दाना उत्पादनमा बाधा पुगेका कारण किसानहरुले गुणस्तरीय सामान उत्पादन गर्न संघर्ष गरिरहेका स्पेनको कृषक संघले जनाएको छन्। 

फ्रान्स अंगुर फाल्ने बेलामा पनि नपुगेको, रोग लागेको र उच्च खडेरीले पर्याप्त उत्पादन हुन नसकेका कारण वाइन र स्याम्पेनको उत्पादन घटेको कृषकहरुको भनाइ छ। क्षेत्रीय रुपमा सरक्षित स्थिति भएका अन्य क्षेत्रले पनि युरोपभर समान समस्याको सामना गरिरहेका छन्। समान रुपमा उत्पादनहरु सुनिश्चित गर्न सुपरमार्केटमा मूल्यहरू बढाउनपर्ने, उत्पादन प्रतिक्रियाका लागि बढी लगानी गर्नुपर्ने अवस्था सिर्जना भएको छ। 

त्यसो त, गर्मीको लहरले क्षेत्रीय रूपमा संरक्षित उत्पादनलाई मात्र असर गरेको छैन। जेआरसी मार्स बुलेटिनका अनुसार युरोपमा बाली अनुगमन सर्वेक्षण, अगस्टको यसको रेकर्डले तातो र सुक्खा मौसमले युरोपभरि नै उत्पादनमा उल्लेखनीय प्रभाव परेको छ। उदाहरणका लागि मकै ८.६ प्रतिशत, सूर्यमुखी उत्पादन ५.५ र भटमास ९. ६ प्रतिशतले घटेको छ।   
    

Comments

Back to top