नयाँ ब्रोकर सञ्चालनका लागि धितोपत्र बोर्डले आवेदन माग्यो, ३० दिन भित्र निवेदन पेश गर्नुपर्ने

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर सञ्चालनका लागि निवेदन माग गरेको छ । धितोपत्र दलाल व्यवसाय सञ्चालन गर्न योग्यता पुगेका संस्थाले ३० दिन भित्र बोर्डमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०७९ पाँचौं संशोधन सहित नयाँ ब्रोकरका लागि बाटो खुला गरेको थियो । धितोपत्र दलाल व्यवसाय सञ्चालन गर्न योग्यता पुगेका संस्थाले निवेदन दिन सक्नेछन् ।

धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानूनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न चाहने संगठित संस्था वा कम्पनीलाई अनुमतिपत्र प्रदान गर्ने कार्य अगाडि बढाइएकोले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र प्राप्त गर्न चाहनेले निवेदन पेस गर्न बोर्डले आग्रह गरेको छ ।

Comments

Back to top