कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
कुमारी बैंक लिमिटेडले बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (भदौ ३१) गते अन्तिम दिन रहेको छ। यसमा बैकिंङ समय सम्म मात्र आवेदन दिन सकिने छ । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर भएको १० वर्ष अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ नामक ऋणपत्र बिक्रीमा ल्याएको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
Comments