डिजिटल मुद्रा ल्याउँदै विश्वका सयौँ देशहरु !

विश्वभरका केन्द्रीय बैंकहरु वित्तीय कारोबारमा डिजिटल मुद्राको प्रयोग गर्न सकिने कुराको सम्भाव्यता अध्ययन गरिरहेका छन् । नियामकहरु विश्वभर सीबीडीसी कार्यान्वयनका लागि एउटा निश्चित फ्रेमवर्क तयार पारेर जानुपर्नेमा सहमत भएका छन् । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार अहिले सय हाराहारी देश विद्युतीय मुद्रा निर्माणको विभिन्न चरणमा रहेको विवरण सार्वजनिक गरेको छ । हालसम्म दुई देशले डिजिटल मुद्रा पूर्ण रूपमा जारी नै गरिसकेका छन् ।

क्यारेबियन टापु बहामस भर्चुअल करेन्सी प्रयोगमा ल्याउने विश्वको पहिलो मुलुक हो । उसले २०२० अक्टोबरमा ‘बहामियन सान्ड डलर’ नामको डिजिटल मुद्रा कारोबारमा ल्याएको थियो । त्यसपछि, नाइजेरियाले पनि २०२१ अक्टोबरमा ‘इनाइरा’ नामको विद्युतीय मुद्रा सार्वजनिक गरिसकेको छ ।

आईएमएफका अनुसार सन् २०१८ को जुलाईसम्ममा एउटा मात्रै मुलुकले डिजिटल मुद्राको कारोबार परीक्षण गरिरहेको थियो भने १८ मुलुक त्यसबारे अध्ययन गरिरहेका थिए । तर, २०२२ जुलाईसम्ममा आइपुग्दा दुई मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेका छन् । १५ मुलुकले १५ परीक्षण गरिरहेका छन् भने थप १५ देशहरुले ‘प्रुप अफ कन्सेप्ट’ तयार पारिसकेका छन् । ६५ देशमा यो अध्ययन अनुसन्धानकै क्रममा छ । यसरी, जम्मा ९७ देशहरुले डिजिटल मुद्राबारे विभिन्न कार्य गरिरहेका छन् ।
 

Comments

Back to top