आयात प्रतिबन्ध सुरु हुनुभन्दा तीन महिनाअघि युरोपले रुसी तेल भण्डारण गर्दै !

युरोपेली संघ (ईयू) ले डिसेम्बर ५ देखि अधिकांश रुसी तेल आयातमा प्रतिबन्ध लगाउने भएको छ । तर, ऊर्जा संकटका बीच हिउँदको केही महिनाअघि नै युरोपेली युनियनले इन्धनको भण्डारण गरिरहेको छ ।

युक्रेनमाथिको आक्रमणलाई लिएर मस्कोलाई दण्डित गर्ने उद्देश्यले लगाइएको प्रतिबन्धले युरोपेली संघमा रुसी कच्चा तेलको आयातको करिब ९० प्रतिशत कटौती गर्ने अपेक्षा गरिएको छ । आउने प्रतिबन्धमा जहाजहरू मार्फत ढुवानी गरिने कार्गोहरू समावेश हुनेछन् तर पाइपलाइनहरू मार्फत ढुवानी गरिने तेल यसमा पर्नेछैन।

युरोपले गत हप्तामा दैनिक करिब १० लाख ब्यारेल तेल आयात गरेको छ, जुन चार हप्ताको उच्च बिन्दु हो। सोमबार प्रकाशित तथ्याङ्कअनुसार पनि तेल आयात  अगस्टको ८,९०,००० ब्यारेल प्रतिमहिनाबाट बढेको हो।

ब्लुमबर्गका अनुसार इयूले डिसेम्बर ५ को प्रतिबन्धको कम्तिमा एक महिना अघि रूसी तेलको खरिदमा ढिलाई गर्ने अपेक्षा गरिएको छ।

ब्लूमबर्गको तथ्याङ्कअनुसार गत हप्ता कुल समुद्री रुसी कच्चा तेलको ढुवानी प्रतिदिन ३३ लाख २० हजार ब्यारेल पुगेको छ । उत्तरी यूरोपमा ढुवानी २०% प्रति हप्ता बढेको छ, जबकि एशियामा यो दर स्थिर छ। युरोपको प्रमुख एम्स्टर्डम–रोटरड्याम–एन्टवर्प तेल प्रशोधन केन्द्र नेदरल्याण्ड्समा एक साताअघिको तुलनामा १३ प्रतिशतले ढुवानी वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

युरोपले रसियालाई सेप्टेम्बर २ मा प्रति हप्ता $ १६७ मिलियन राजस्व पठाएको छ  । रूसी वित्त मन्त्रालय र पोत ट्र्याकिंग डेटाको अनुसार यो हप्तामा १२% ले बढी हो।

ब्लुमबर्गले जारी गरेको विश्लेषणले रुसी उर्जामा युरोपको निर्भरता र युरोपले सामना गरिरहेको उर्जा चुनौतीलाई जोड दिएको छ। 

युरोपले यस वर्षको सुरुमा युक्रेनमा रूसको आक्रमण अघि नै तेल आपूर्तिमा कमीको सामना गरिरहेको थियो र यो थप प्रतिबन्धले युरोपको उर्जा सङ्कटलाई झन विकराल बनाउने देखिएको छ ।

स्रोत:एजेन्सी

Comments

Back to top