अस्ट्रेलियाले लगभग दुई लाख विदेशीलाई स्थायी बसोबासको अनुमति दिने तयारी गर्दै !

अस्ट्रेलियामा श्रमशक्तिको ठूलो अभाव देखिएको छ । यसलाई पूर्ति गर्न एक दशकपछि अस्ट्रेलियाले स्थायी आप्रवासन संख्याको सीमा बढाएको हो।

यस आर्थिक वर्षमा अस्ट्रेलियाले बसाइँ सरेर आउने मानिसका लागि कोटा ३५ हजारले बढाउँदै कुल १ लाख ९५ हजार विदेशी नागरिकलाई स्थायी आप्रवासनको अनुमति दिने भएको छ।

अस्ट्रेलियामा चीन, भारत र ब्रिटेनजस्ता देशबाट धेरै आप्रवासन हुन्छ। सरकारले तिनै देशबाट कामदारको आपूर्ति गर्न आवश्यक रहेको बताएको छ। अस्ट्रेलियामा नेपालीको संख्या पनि उल्लेख्य छ। अहिले अस्ट्रेलियामा जागिरका ४ लाख ८० हजार पद खाली छन्।

क्यान्बरामा गत साता भएको राष्ट्रिय रोजगार सम्मेलनका क्रममा कामदारको अभावले विमानस्थल अस्तव्यस्त बनेका, फलफूल बोटमै कुहिन थालेको र अस्पतालमा ठूलो दबाव उत्पन्न भएको बताइएको थियो। ‘हामी जहिले पनि अस्ट्रेलियाली नागरिकले पहिले काम पाऊन् भन्नेमा केन्द्रित हुन्छौँ तर कोभिडको प्रभाव यति गम्भीर छ कि अन्य सबै सम्भावना सकिँदा पनि हामीलाई अझै हजारौँ कामदारको अभाव हुनेछ, कम्तीमा सानो अवधिका लागि भए पनि’, गृहमन्त्री क्लेर ओनिलले भनिन्।

सन् २०१० को मध्यमा अस्ट्रेलियामा स्थायी आप्रवासन प्रतिवर्ष लगभग एक लाख ९० हजार पुगेको थियो। त्यो सन् २०१७ ताका घट्यो। किनभने त्यस बेला आप्रवासन राजनीतिक विवादको विषय बन्न पुगेको थियो। तर व्यापारी, युनियनमा संलग्न व्यक्ति तथा प्रतिपक्षी दलका नेताहरुले थप आप्रवासी आवश्यक पर्नेमा जोड दिएका थिए।

अहिले अस्ट्रेलिया प्रतिभाको खोजी गर्ने लडाइँमा भएको देखिने प्रणालीबाट बाहिर निस्किरहेको छ। अहिले स्वास्थ्यकर्मीका लागि संख्या ४ हजार ७०० र अन्य क्षेत्रका लागि ९ हजार बढाइएको छ।

त्यस्तै सरकारले लामो समयदेखि बाँकी रहेको भिसा आवेदनको अन्तिम निर्णय दिने काममा सहयोग गर्ने कर्मचारीका लागि थप ३.६० करोड डलर दिने वाचा गरेको छ। 

स्रोत: बीबीसी

Comments

Back to top