ओपेकद्वारा तेल उत्पादन कटौती गर्ने निर्णय, तेलको मूल्यमा ४ प्रतिशतको वृद्धि !

ओपेक र कच्चा तेल उत्पादकहरूले उत्पादन कोटा कटौती गर्न सहमत भएपछि सोमबार तेलको मूल्यमा ४ प्रतिशतले वृद्धि भएको छ । यस्तै, रुसले पनि अमेरिकी नेतृत्वको योजनाबद्ध मूल्य सीमापालन गर्ने देशहरूलाई आफ्नो तेल निर्यात नगर्ने बताएको थियो।

पेट्रोलियम उत्पादक देशहरूको संगठनका सदस्यहरुले सोमबार एक बैठकमा अक्टोबरबाट दैनिक १,००,००० ब्यारेल उत्पादन घटाउन सहमत भएका छन् । यो कुरा विश्लेषकहरूलाई पनि आश्चर्यजनक लागेको छ,  जसले ओपेकद्वारा हालको उत्पादन कायम राख्ने अपेक्षा गरेका थिए। प्रमुख तेल निर्यातकर्ता  साउदी अरेबियाले गत महिना तेल बजारमा मूल्य निर्धारणको शिथिलतालाई कम गर्न उत्पादन घटाउने विचार अघि सारेको थियो।

तेलको मूल्य जून महिनाको उच्च स्तरबाट लगभग २० प्रतिशतले घटेको छ। एकतर्फ, आंशिक रूपमा विश्वव्यापी मन्दीको बारेमा बढ्दो चिन्ताको कारण इन्धन मागलाई धक्का दिने सम्भावना पनि छ। अर्कोतर्फ, ओपेक देशहरुले आपूर्तिको स्तरमा कटौती गर्दा, सानो मात्रामा भए पनि, तेलको मूल्यलाई समर्थन गर्न मद्दत गर्न भने सक्छ।

Comments

Back to top