बिजुलीको बिलमा उच्च वृद्धि भएपछि बेलायतका पब र रेस्टुरेन्टहरू खतरामा !

बेलायतको ऊर्जा संकट बढ्दै जाँदा त्यहाँका पब संचालकहरुको दुविधा झनै बढेको छ ।

अक्टोबरको सुरुसम्ममा उनीहरुले आफ्नो विद्युत् सम्झौता नवीकरण गरिसक्नुपर्छ । तर उनीहरुले प्राप्त गर्न सक्ने एकमात्र मूल्य वार्षिक ११८००० पाउण्ड हो, जुन  २७००० पाउण्डदेखिको उच्च वृद्धि हो । यसरी भारी मूल्यमा विद्युतको शुल्क बढेपछि बेलायतका पबहरु सङ्कटमा परेका हुन् ।

उत्तरपूर्वी इङ्ल्यान्डको एउटा सानो सहर वासिङ्टनमा च्याम्प्स स्पोर्टस बार एण्ड ग्रिलका मालिक आर्मस्ट्रङले भनिन्, "विद्युतको मूल्य दिनहुँ बढ्दै जान्छ। यति धेरै मूल्य बढ्ने अनुमान हामीले कहिल्यै गरेका थिएनौं।"

उनले प्रस्ताव गरेको सबैभन्दा छोटो सम्झौता तीन वर्षको लागि हो। उनी हालको मूल्यमा निश्चित अवधिको सम्झौतामा हस्ताक्षर गर्न हिचकिचाई रहेकी छिन्।

"म जति लामो समयसम्म पर्खिरहन्छु, निर्णय गर्न त्यति नै गाह्रो हुन्छ, तर म वास्तवमा ३ वर्षे सम्झौतामा हस्ताक्षर गर्न सक्दिन," उनले भनिन्, "किनकि मलाई थाहा छ कि म त्यो खर्च व्यहोर्न सक्दिन।"

आर्मस्ट्रङले नयाँ सम्झौतामा हस्ताक्षर हुने बेलासम्म नयाँ सरकारले हस्तक्षेप गरेर मूल्य घटाउनेछ भन्ने आशाका साथ पर्खने जोखिम उठाइरहेकी छिन् ।

बेलायतभरि नै ऊर्जाको लागतलाई लिएर त्रास बढ्दै गएको छ । घरपरिवारले अर्को महिनाबाट आफ्नो ऊर्जा बिलको मूल्य सीमामा ८० प्रतिशतले वृद्धिको सामना गर्नु पर्नेछ। 

आवासीय ग्याँस र बिजुलीको बिलमा केही सरकारी सहयोग भएको छ, र त्यसमा थप सहयोग हुने अपेक्षा गरिएको छ । यद्यपि यसले कस्तो रूप लिन्छ भन्ने कुरा अज्ञात छ किनकि देशले मंगलबार औपचारिक रूपमा नयाँ प्रधानमन्त्री नियुक्त हुने प्रतिक्षा गरिरहेको छ।

साना तर ऊर्जामा आधारित कम्पनीहरू, विशेष गरी पब र रेस्टुरेन्टहरूले आकासिएको बिलमा सहयोग नपाए हिउँदमा यी व्यवसायहरु बन्द हुने सक्ने चेतावनी दिइरहेका छन्।

स्रोत: एजेन्सी

Comments

Back to top