हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो, भदौ २९ गतेसम्म खरिद गर्न सकिने
हिमालयन बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने न्याद थप गरिएको छ । बैंकले निष्काशनमा ल्याएको ऋणपत्रमा अब भदौ २९ गतेसम्म आवेदन दिन सकिने भएको हो । बैंकले भदौ १५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको थियो।
वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ७ वर्ष अवधिको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’नामक ऋणपत्र बैंकले निष्काशनमा ल्याएको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।
सो ऋणपत्र खरिदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
Comments