आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई साउदी अरबले दियो साथ

आर्थिक संकटमा फसेको पाकिस्तानलाई साउदी अरबले सहयोग गर्ने भएको छ। साउदी अरबले पाकिस्तानमा १ अर्ब डलर लगानी गर्ने भएको हो।

साउदी अरबको विदेश मन्त्रालयले ट्विट गर्दै यो जानकारी दिएको हो। साउदी अरबको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साउदी अरबका राजा सलमानले पाकिस्तानमा १ अर्ब डलर लगानी गर्न निर्देशन दिएका छन्। उनले पाकिस्तानको आर्थिक अवस्था र त्यहाँका जनतालाई सहयोग गर्न यो सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन्।’

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान ले बिहीबार पाकिस्तानका विदेशमन्त्रीसँग फोन वार्ताका क्रममा उक्त जानकारी दिएका हुन्। फरहानले बिहीबार पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोसँग फोनवार्ता गरेका छन्।

कुराकानीका क्रममा फरहानले पाकिस्तानका विदेशमन्त्रीलाई राजा सलमानको निर्देशनबारे जानकारी गराएका थिए। यससँगै दुई नेताबीच द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने विषयमा पनि छलफल भएको थियो। दुई नेताबीच साझा हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा पनि छलफल भएको थियो।

पाकिस्तान र साउदी अरबबीच पाकिस्तानको स्थापनादेखि नै बलियो सम्बन्ध छ। सन् १९७० को दशकदेखि यी सम्बन्ध अझ प्रगाढ भएका छन्। पाकिस्तानको अर्थतन्त्र समस्यामा पर्दा साउदी अरेबिया सहयोग गर्न अगाडि आउँछ।

Comments

Back to top