अमेरिकामा आर्थिक मन्दी आईसकेको विज्ञहरुको राय !

अमेरिकामा आर्थिक मन्दी आईसकेको विज्ञहरुले बताएका छन् ।

विश्वका सबैभन्दा धनीव्यक्ति टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्कका अनुसार अमेरिका पहिले नै मन्दीबाट गुज्रिरहेको छ। पुँजीको विनियोजन गलत भयो भने आगामी दिनमा अवस्था झन् बिग्रन सक्ने उनको अनुमान छ। 

ड्युस बैंक र मोर्गन स्टेनलीपछि जापानी लगानी बैंक नामुराले पनि अमेरिकी अर्थतन्त्रमा मन्दी आउने प्रक्षेपण गरेको छ। नामुराका अनुसार २०२२ को अन्त्यमा मन्दी आउन सक्छ। बैंक तथा ठूला व्यवसायीहरुको यो मन्दी प्रक्षेपण अमेरिकाका लागिमात्र होइन सारा विश्व नै समस्यामा परेको छ।

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सका अनुसार रुस–युक्रेन युद्धका कारण महँगी बढेको छ। ‘जसका कारण अधिकांश देशले ब्याजदर बढाएका छन्’, उनले भनेका छन्, ‘ब्याजदर वृद्धिका कारण अर्थतन्त्र सुस्त हुँदै गएपछि आर्थिक मन्दीमा परिणत हुन्छ।’

सन् १९९९–२००१ सम्म अमेरिकी अर्थमन्त्रीका रुपमा काम गरेका लरेन्स समर्सले आगामी दुई वर्षमा अमेरिकी अर्थतन्त्रले मन्दी देख्न सक्ने बताएका छन्। समर्सका अनुसार मुद्रास्फीति ४ प्रतिशतभन्दा बढी हुँदा र बेरोजगारी दर ४ प्रतिशतभन्दा कम हुँदा विश्वका प्रमुख अर्थतन्त्रहरु मन्दीबाट प्रभावित भएका छन्। अमेरिकाले यी दुवै मापदण्ड पार गरेको छ।

विश्वको सबैभन्दा ठूलो स्टक एक्सचेन्जमध्ये एक नास्डकका सीईओ एडेना फ्राइडम्यानले विश्व आर्थिक मञ्चको प्यानलमा मन्दीको भविष्यवाणीहरु मन्दीको सबैभन्दा ठूलो कारण हुनसक्ने चेतावनी दिएकी छन्। ‘भविष्यवाणीहरुले ग्राहकको विश्वासलाई कमजोर बनाउन सक्छ, जब कि बजारमा अस्थिरता निम्त्याउँछ, मन्दीको जोखिम बढाउँछ’, उनले भनेकी छन्। 

बाइडेन प्रशासन र फेडरल रिजर्भले रेकर्ड स्तरमा पुगेको महँगीलाई नियन्त्रण गर्न धेरै कदमहरु चालेका छन्। अमेरिकी फेडरल रिजर्भले ब्याजदर ०.७५ प्रतिशतले बढाएको छ। यसपछि बजारमा ठूलो गिरावट आएको छ। ब्याजदर बढाउने निर्णयले मुद्रास्फीति नियन्त्रण गर्न सक्छ तर यो कदमले अमेरिकामा मन्दी निम्त्याउन सक्ने विज्ञहरु बताउँछन् ।

स्रोत: एजेन्सी

Comments

Back to top