फाइनान्स कम्पनीको नाफा घट्यो, लाभांश झनै घट्न सक्ने !
गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुको नाफामा उच्च अङ्कमा गिरावट देखिएको हो। १५ वटा फाइनान्स कम्पनीको नाफा औसतमा ३२.१६ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षमा १५ वटा फाइनान्सले कुल १ अर्ब ३३ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ अर्ब ९७ करोड १७ लाख रुपैयाँ रहेको थियो।
अघिल्ले वर्ष धेरै फाइनान्स कम्पनीहरुले सेयर बजारमा कारोबार गरेर राम्रो नाफा कमाएका थिए। तर गत आर्थिक वर्षमा एकातिर केन्द्रिय बैंकले सेयर कारोबारमा कडाई गरेको छ भने अर्कोतर्फ सेयर बजार पनि लगातार घट्दो क्रममा छ। यसले गर्दा फाइनान्स कम्पनीहरुले सेयर कारोबारबाट कमाउने आम्दानी घटेको छ। जसको असर नाफामा देखिएको हो।
गत वर्ष बेष्ट फाइनान्सले सबैभन्दा धेरै नाफा कमाएको छ। फाइनान्सले खुद नाफा १०२ प्रतिशतले बढाएर १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो फाइनान्स कम्पनीहरुमा सबैभन्दा ठुलो वृद्धिदर हो।
यस्तै गत वर्ष नेपाल फाइनान्सले ८५ प्रतिशतले नाफा बढाएको छ भने समृद्धि फाइनान्सले २१ प्रतिशत, गुडविल फाइनान्सले २ प्रतिशत र आइसिएफसि फाइनान्सले २ प्रतिशतले नाफा बढाएका छन्। बाँकी फाइनान्सको भने नाफा घटेको छ।
गत आर्थिक वर्षमा मञ्जुश्री फाइनान्सको नाफा सबैभन्दा धेरै घटेको छ। अघिल्लो वर्षको तुलनामा फाइनान्सको नाफा ८० प्रतिशतले घटेको छ। यस्तै मल्टिपर्पस फाइनान्सको नाफा ७३ प्रतिशतले घटेको छ भने गोर्खज फाइनान्सको ५४ प्रतिशत, रिलायन्स फाइनान्सको ४६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ४१ प्रतिशत, जानकी फाइनान्सको ३२ प्रतिशत, पोखरा फाइनान्सको २० प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको १९ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुको वितरणयोग्य नाफा पनि ६७ प्रतिशतले घटेको छ। फाइनान्स कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार सेयरधनीलाई दिन मिल्ने वितरणयोग्य नाफामा पनि निकै गिरावट देखिन्छ।
गत आर्थिक वर्षमा नेपाल फाइनान्सको वितरणयोग्य नाफा १०३ प्रतिशतले बढेको छ भने बाँकी सबै कम्पनीको वितरणयोग्य नाफा घटेको छ।
फाइनान्स कम्पनीहरुको नाफा घट्दा उनीहरुले सेयरधनीलाई वितरण गर्ने लाभांश पनि घट्ने देखिएको हो।
Comments