नेप्सेको आगामी दिशा : बजार बिक्रीकर्ताको नियन्त्रणमा !

ग्राफ,प्याटर्न र संकेतहरुको प्रयोग मार्फत सेयर बजारको मनोविज्ञान बुझ्ने कार्य प्राविधिक विश्लेषण हो l प्राविधिक विश्लेषणले बजारको आगामी दिशा अनुमान लगाउन सकिन्छ l

क्यान्डलस्टिक प्याटर्न :

क्यान्डलको माध्यमबाट निश्चित ट्रेडिङ्ग अवधिभर सेयर मूल्यको आधारमा भएको खरिदकर्ता एवम् बिक्रीकर्ताको क्रिया-प्रतिक्रियाको दृश्य  देखिने गर्दछ l नेप्से चार्टमा बनेको क्यान्डलस्टिक प्याटर्नको अध्ययनबाटनेपालको सेयर बजारमा एउटा  निश्चित अवधिमा भएको  कारोबारको मूल्य उतारचढाव तथा लागानीकर्ताको मनोविज्ञान बुझ्न सकिन्छ l उक्त जानकारीको आधारमा भविष्यमा हुनसक्ने सम्भावित परिस्थितिको प्रक्षेपण पनि गर्न सकिन्छ lसाधारणतया हरियो क्यान्डलले मार्केट बुल र रातो क्यान्डलले वियर हुने सङ्केत गर्छ  l  

आज बनेको क्यान्डल वियरिस माराबोजु  हो l  जसको अर्थ बजारमा बिक्रिकर्ताको नै सुरुदेखि अन्तिम समयसम्म नियंत्रण रहेको देखाउदछ l बिक्रिकर्त्ता पूर्णरुमा हावी भएको हुदा केही प्यानिक बिक्री भने आएको स्पस्ट देख्न सकिन्छ l तर भोलीको बजार खरिदकर्ताको नियन्त्रणमा हुन्छ भने चाहीं भएको सेयर होल्ड गरी बस्न सकिने छ l

सपोर्ट र रेसिस्टेन्स :

सपोर्टको माध्यमबाट खसिरहेको सेयर बजार कहाँसम्म आएर रोकिएला  भन्ने कुराको अनुमान लगाउन  सकिन्छ भने रेसिस्टेन्सको माध्यमबाट बढिरहेको बजार कुन बिन्दुमा  ठोक्कीएर तल खस्ला  भन्ने कुराको अनुमान लागाउन सकिन्छ l सपोर्ट र रेसिस्टेन्सको प्रयोगबाट सुरक्षित लगानी रणनीति तर्जुमा गर्न सकिन्छ l 

खस्दो बजारमा अब नजिकैको सपोर्ट २०१५ को रेन्जमा रहेको देख्न सकिन्छ l तथापि, बजार आज २०६०.७३  विन्दुमा आएर बन्द भएको छ l अर्कोतर्फ  बजारले आज  २०९० को बलियो सपोर्टलाई ब्रेक गरेको हुँदा जोखिम व्यवस्थापन गर्ने राम्रो अवसर देखिन्थ्यो l यद्यपि, बजारले एउटा अर्को बिक्री अवसर दिने भएको हुँदा आत्तिहाल्नु पर्ने अवस्था भने छैन l

बोलिंजर ब्याण्ड :

बोलिंजर ब्याण्डको अध्ययनबाट बजारमा देखिएको भोलाटाईलिटी (उतारचढाव) लाई देख्न सकिन्छ l यसर्थ, दुवै आप्पर र लोवर ब्याण्ड फराकिलो हुँदै जान्छ भने बजारमा उतारचढाव बढ्दै गएको मान्न सकिन्छ l त्यसैगरी, दुवै ब्याण्ड साँघुरिएर जान्छ भने मूल्यमा खासै  उतारचढाव नआएको बुझ्न सकिन्छ l

नेप्सेलाई बोलिंजर ब्याण्ड लगाएर हेर्दाखेरी  ब्याण्ड केही खुम्चिदै गएको देख्न सकिन्छ l बजारले आज मिडिल ब्याण्डलाई तोडेर तल आएको हुदा केही प्यानिक बिक्री भने देखिएको छ l हिजोको रिपोर्टमा वियरिस क्यान्डलले  मिडिल ब्याण्डलाई ब्रेक गर्दछ भने केही जोखिम व्यवस्थापन गर्न सकिने कुरा लेखिएको थियो l त्यसकारण, आज केही ब्रिक्री गरेर नगदमा बसी अर्को सपोर्ट कुर्न सकिन्थ्यो l

आर.एस.आई

आर.एस.आईले बजारमा खरिदकर्ताको खरिद बल र बिक्रीकर्ताको बिक्री बललाई प्रतिनिधित्व गर्दछ l यो लगातार ६० भन्दा माथी जान्छ भने खरिद बल निरन्तर बढिरहेको संकेत गर्दछ  l कम जोखिम मोलेर कारोबार गर्छु भन्नेहरुका लागि यो सूचक अत्यन्त  लाभदायक मानिन्छ l

 आर.एस.आई ६७ उच्च विन्दुबाट  झुकेर मंगलबार  सम्म आइपुग्दा ४५.२०  विन्दुमा आएको छ l नजिकै अर्को सपोर्टको रेन्ज ३८.८८  मा रहेकाले त्यो रेन्जबाट बजार फर्कन सक्ने सम्भावना जीवित नै भएको हुदा ,साह्रै  प्यानिक भई नहाल्नु पर्ने अवस्था जनाउँदछ  l तसर्थ  फेरी पनि बजारले एउटा सपोर्ट लिएर केही बढ्ने हुँदा आत्तिएर सस्तोमा बिक्री गरिहाल्नु पर्ने अवस्था अब चाहीं देखाउँदैन l तथापी यो इन्डिकेटर बढी ६० क्रस गर्छ भने अझ कन्फीडेन्ट ट्रेड लिन सकिन्छ l

एम.ए.सी.डी

एम.ए.सी.डी इन्डिकेटरले बुलिश क्रस ओभर र वियरिश क्रस ओभरको संकेत देखाउँदछ l यो धेरै लगानी कर्ताले प्रयोग गर्ने इन्डिकेटरको रुपमा चिनिन्छ l बुलिस क्रस ओभरले बजारमा सुरक्षित प्रवेश गर्ने र वियरिस क्रस ओभरले बजारबाट निस्किने संकेत दिने गर्दछ l त्यतिमात्र नभएर यसले बुलिश डाभरजेन्स र वियरिश डाभरजेन्स समेतको जानकारी दिने गर्दछ l

यो इन्डिकेटरबाट बजारलाई हेर्दा एम.ए.सी.डी लाइनले  सिग्नल लाईनलाई माथिबाट काटेर वियरिस क्रस ओभर बनाएको देख्न सकिन्छ l त्यतिमात्र नभएर हिस्टोग्राम पनि लगातार रातो भई बढेको देख्न सकिन्छ l यसको सामान्य मनोविज्ञान बजार बिक्रिकर्ताको नियन्त्रणमा छ l हिजो र आज सम्ममा नै केही जोखीम व्यस्थापन गरीसक्नुपर्ने भएको हुदा आगामी दिनमा भने चाहीं राम्रो रिट्रेसमेन्ट कुरी बजार बढेको बेला केही नगदमा बस्नु उपयुक्त देखिन्छ l

डी.एम .आई

१४ दिने प्लस  डी.एम .आई (हरियो ) र १४ दिने माइनस  डी.एम .आई ( रातो ) को बुलिश क्रस ओभरले ( हरियोले रातो लाइनलाई तलबाट माथी काट्ने )  बजारमा प्रवेशको संकेत दिने गर्दछ भने ( हरियो लाइनले रातो लाईनलाई माथीबाट तलतिर )  वियरिश क्रस ओभरले बजारबाट निस्कने संकेत दिने गर्दछ l साथै यसमा भएको ए. डी. एक्स. लाइनले चाहीं बजारको मोमेन्टमबारे ( तीव्र गतीमा बढ्ने वा घट्ने ) जानकारी दिने गर्दछ l

यो इन्डिकेटरबाट बजारलाई हेर्दा दुवै डी.एम .आई लाईन नाजिकिदै गएको छ l  त्यसकारण हरियो लाइनले रातो लाइनलाई काटेर तल आउदछ भने बजारबाट निस्कने  संकेत गर्दछ l त्यसैगरी   ए. डी. एक्स. लाइन २२ को रेन्जमा झुकेको  देख्न सकिन्छ l जसले बजारको बुलिस  मोमेन्टम खस्किदै गएको अनुमान लगाउन सकिन्छ l

निस्कर्ष : क्यान्डलको आधारमा  बजारलाई हेर्दाखेरी आज वियरिस माराबोजु क्यान्डल बनेको छ जसले बजार पूर्णरुपमा बिक्रिकर्ताको नियन्त्रणमा रहेको देखाउदछ l यदि बजार केही  अंकले बढ्दछ भने जोखीम व्यवस्थापन गरी नगदमा बस्नु उपयुक्त देखिन्छ l अर्कोतर्फ बजार खस्ने नै भएता पनि एउटा सानो रेट्रेसमेन्ट( थोरै बढाई) भने आउने नै हुँदा प्यानिक भई सस्तोमा बिक्री गर्नुपर्ने अवस्था देखिँदैन l

पुनश्च : सेयर बजार जोखिमको क्षेत्र हो l माथि  प्रस्तुत गरिएको प्राविधिक रिपोर्ट आर्थिक सचेतनाको लागि  मात्र भएकोले आफ्नो लगानीलाई जोखिमभार व्यहोर्न  सक्नेगरी व्यवस्थापन गर्नुहोला l धन्यवाद !

—रोशन कुमार कार्की (प्राविधिक विश्लेषक)

Comments

Back to top