धौलागिरी लघुवित्तको कम्पनी प्रोफाइल हेरौँ !
धौलागिरी लघुवित्त वित्तीय संस्थाले आज देखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको छ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१०५ प्रतिशतले हुन आउने ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्काशनमा ल्याएको छ।
लघुवित्तको अधिकृत पूँजी १५ करोड रुपैयाँ, जारी पूँजी १० करोड ३१ लाख रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ ।
सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।
आईपीओ निष्काशन पश्चात संस्थापकको ६७.८९५ प्रतिशत र सर्वसाधारणको ३२.१०५ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
लघुवित्तको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपाल लिमिटेडले ‘केयरनपी डबल बी माइनस इन्युअर’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत मध्यम जोखिम रहेको देखाउँछ ।
लघुवित्तलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपालले २०७८ कार्तिक २५ गते रेटिङ्ग प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि एक वर्ष अर्थात २०७९ कार्तिक २५ गतेसम्म कायम रहनेछ ।
विपन्न तथा पिछडिएका समुदायको आर्थिक सामाजिक तथा चेतना विकासका लागि २०५२ कार्तिक १२ गते स्थापना भएको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र मार्फत २०५७ साल देखी नेपाल राष्ट्र बैंकबाट वित्तीय करोबार गर्ने इजाजत प्राप्त गरि लघुवित्त कार्यक्रम संचालन गर्दै आईरहेको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७५ असार १९ गते दर्ता गरि नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गतेदेखि वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरी राष्ट्रिय स्तर कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्थाको हैसियतले २०७५ फागुन १ गते देखी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट करोबार सञ्चालन गर्दै आइरहेको छ ।
यस लघुवित्त वित्तीय संस्थामा धाैलागिरी सामुदायिक स्राेत विकास केन्द्र र प्रभु बैंक लिमिटेड आधारभुत सेयरधनीहरू रहेका छन् ।
लघुवित्तकाे रजिष्टर्ड कार्यालय बाग्लुङ्ग नगरपालिका–२ बाग्लुङ्गमा रहेको छ । २०७८ चैत मसान्तसम्म यस लघुवित्त वित्तीय संस्थाले ४४ वटा शाखा कार्यालयहरु र २ वटा सम्पर्क कार्यलयहरु स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको छ । लघुवित्तले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृत लिई शाखा, उपशाखा वा अन्य कार्यालय खोलि वित्तीय कारोबार गर्न समेत सक्ने जनाएको छ ।
लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा १५ करोड ८१ लाख ९४ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक २०७८/७९ मा पनि लघुवित्तले ६ करोड १६ लाख ८८ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन अनुमान गरेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० मा लघुवित्तले १० करोड १८ लाख ८३ हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा लघुवित्तले २ करोड ५९ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिसेयर नेटवर्थ २९३ रुपैयाँ ४९ पैसा र प्रतिसेयर आम्दानी ७० रुपैयाँ २ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ८८ पैसा र प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ४० पैसा पुग्ने लघुवित्तको आंकलन छ ।
Comments