क्रिप्टो करेन्सीमा लगानी गरेका श्रेष्ठविरुद्व ४८ करोड भन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर !

क्रिप्टो करेन्सीमा लगानी तथा कारोबार गरेको पाइएपछि पक्राउ परेका विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठविरुद्ध ४८ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले श्रेष्ठविरुद्ध ४८ करोड ४ लाख ७२ हजार ५४८ रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

श्रेष्ठले राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको अभियोगपत्रमा दाबी गरिएको छ। श्रेष्ठलाई ७ वर्ष कैद सजायको समेत मागदाबी गरिएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्ण रुपमा गैरकानुनी रहेको भन्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो।

श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था विपरीत (गैरकानुनी) रुपमा भर्चुअल मुद्राको कारोबार गरेको अभियोग पत्रमा दाबी गरिएको छ। श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिमको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ। दफा ९५ बमोजिमको कसुर गरेको भन्दै उनीविरुद्ध दफा ९६ को उपदफा (१) अन्तर्गत बिगोको ३ गुणासम्म जरिवाना र ७ वर्षसम्म कैद सजाय मागदाबी गरिएको हो।

नेपालमा गैरकानुनी मानिएको क्रिफ्टो करेन्सीमार्फत् अवैध रुपमा आर्जन गरेको र नेपालबाट हुण्डीमार्फत् विदेशमा रकम पठाएर सञ्चित गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ।

Comments

Back to top