आरएमडिसी लघुवित्तको नाफामा उल्लेख्य वृद्धि !
आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा उल्लेख्य बढेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ३५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९९.४८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४९.५९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४२.०२ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ८६.०१ प्रतिशत बढेको छ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ११ रुपैयाँ ३९ पैसा बढेर २८ रुपैयाँ ६० पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६८ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.३० गुणा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० प्रतिशत बढेको छ भने जगेडा कोष ४.८४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी २९.६८ प्रतिशत घटेको छ भने कर्जा ०.२६ प्रतिशत बढेको छ।
Comments