सयपत्री हाइड्रोपावरको कम्पनी प्रोफाइल हेरौँ !
सयपत्री हाइड्रोपावर लिमिटेडले आज देखि सर्वसाधारणका लागि आईपीओ निष्काशनमा ल्याएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रमा स्थानीय बासिन्दालाई निष्काशन गरेर बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थप गरी ७ करोड २१ लाख ६ हजार रुपैयाँ बराबरको ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशनमा ल्याएको हो ।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी ६ लाख ७० हजार ५८६ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी २१ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई र सर्वसाधारणलाई छुट्टाएको ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल इस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा मुक्तिनाथ क्यापिटल रहेको छ ।
मध्यम जोखिम रहेको कम्पनी
कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई २०७८ फागुन ४ गते रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्ष अर्थात २०७९ माघ २१ गतेसम्म कायम हुनेछ ।
कम्पनीको स्थिति
मन्दाकिनी हाइड्रोपावर लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६४ साउन १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । २०७३ चैत ८ गते देखि पब्लिक कम्पनीमा परिणत भई कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं. ०७, चावहिल, काठमाडौंमा रहेको छ । कम्पनीको जलविद्युत उत्पदान केन्द्र भने बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिका वडां. २ र ३ मा रहेको छ ।
कम्पनीले २.५ मेगावाट क्षमताको दरम खोला ए जलविद्युत आयोजनाको निर्माण कार्य सम्न्न गरिसकेको छ । आयोजनाबाट २०७३ असार १२ गते देखि व्यवसायिक विद्युत उत्पदान शुरु गरी नियमित रुपमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आइरहेको छ ।
निर्माण कार्य सम्पन्न भैसक्दा आयोजनाको कुल लागत ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २१ करोड ३८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
साथै साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ३ महिना र डिस्काउन्टेट तर्फ लगानी फिर्ता हुने अवधि १२ वर्ष ४ महिना रहेको छ ।
आईपीओ जारी गर्नु पछाडिको धेय
कम्पनीबाट निर्माण भएको जलविद्युत आयोजनाको निर्माण तथा विकासको लागि बैंकसँग सम्झौता भई लिएको ऋण चुक्ता गर्न तथा सर्वसाधारणलाई सेयरमा लगानी गर्ने अवसर दिन आईपीओ निष्काशन गर्नु परेको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार आयोजना प्रभावित स्थानियलाई १० प्रतिशत ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २० प्रतिशत ६ करोड रुपैयाँ गरी ९ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्नुपरेको जनाएको छ ।
आईपीओ निष्काशन गरेर संकलन भएको ९ करोड रुपैयाँ मध्ये १ करोड ५० लाख रुपैयाँ ताराखोला गाउँपालिका स्थित बगर खोलाको पानी आयोजनाको हेडवर्कमा खसाली आयोजनाको उर्जा वद्धि गर्ने र ७ करोड ५० लाख रुपैयाँ आयोजना निर्माण गर्दा कायम दायित्व भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।
दुई वर्षमा सञ्चित नाफा ५ करोड माथि पुर्याउने योजना
कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ५ करोड ३२ लाख १० हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कम्पनी ५ कारोड ७ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा पनि कम्पनी २ करोड ३९ लाख ५२ हजार रुपैयाँ नोक्सानीमा रहेको अनुमान गरेको छ ।
यस्तै आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ७४ र प्रतिसेयर आम्दानी १३ रुपैयाँ १७ पैसा पुग्ने अनुमान गरेको छ ।
Comments