विश्वभर आर्थिक मन्दीको खतरा, भटाभट कर्मचारी कटौती गर्दै ठूला कम्पनी !

कोरोना महामारीपछि दशकयताकै उच्च मुद्रास्फीतिका कारण विश्व अहिले मन्दीको डरले सताएको छ। यसका कारण विश्वभर सेयर बजारको अवस्था पनि नाजुक छ।

विशेषगरी पछिल्लो ५–६ महिना प्राविधिक कम्पनीहरुका लागि निकै खराब साबित भएको छ। धेरै विश्लेषकहरुले आर्थिक मन्दी आउन अब केही महिनामात्रै बाँकी रहेको बताएका छन् भने कतिपयले मन्दी आइसकेको र अब औपचारिकता आउन बाँकी रहेको पनि बताएका छन्।

यसैबीच, गुगल, अमेजन, एप्पल, फेसबुक, माइक्रोसफ्ट, नेटफ्लिक्स र टेस्ला लगायतका सबै टेक दिग्गजहरुले मन्दीसँग जुध्ने तयारी गरिरहेका छन्। यी कम्पनीहरुले या त कर्मचारीहरुलाई हटाउने छन् वा नयाँ भर्ना घटाउनेछन्।

अल्फाबेट/गुगलः गुगलको मूल कम्पनी अल्फाबेटले भर्ती प्रक्रिया सुस्त गरेको छ। कम्पनीका सीईओ सुन्दर पिचाईले एक आन्तरिक ज्ञापनमा कर्मचारीहरुलाई भनेका छन् कि गुगलले दोस्रो त्रैमासिकमा १० हजार जना भर्ती गरेको हुन सक्छ तर यो वर्षको बाँकी भागमा सुस्त हुनेछ। उनले अन्य कम्पनीजस्तै गुगलमा पनि मन्दीको असर पर्ने स्पष्ट पारे। गुगलमा हाल १ लाख ६४ हजार कर्मचारी कार्यरत छन्।

अमेजनः अमेजन संसारको सबैभन्दा ठूलो रोजगारदातामध्ये एक हो। मार्च २०२२ सम्म अमेजनसँग १६ लाख कर्मचारीहरु आबद्ध थिए। कम्पनीले यस वर्ष अप्रिलमा आफूले आवश्यकताभन्दा बढी कर्मचारी रहेको बताएको थियो। उसले महामारीका कारण बिदामा गएका कर्मचारी काममा फर्किएको जनाएको छ। ‘जसका कारण हामी केही दिनमै न्यून कर्मचारीबाट बढी कर्मचारीमा पुगेका छौँ। यसले उत्पादकत्वमा असर गरिरहेको छ’, कम्पनीले भनेको छ। कम्पनीले आफ्ना केही गोदामहरु भाडामा दिइरहेको छ र तत्कालका लागि अफिस स्पेसको विकास रोकिरहेको छ।

एप्पलः एप्पलले यसबारे आधिकारिक रुपमा केही भनेका छैनन्। तर, यस विषयमा सम्बन्धित स्रोतलाई उद्धृत गर्दै ब्लुमबर्गको प्रतिवेदनमा कम्पनीले आर्थिक मन्दीसँग जुध्न केही डिभिजनमा नियुक्ति र खर्च घटाउने योजनामा काम गरिरहेको बताइएको छ। उपलब्ध तथ्यांकअनुसार सेप्टेम्बर २०२१ सम्म एप्पलमा १ लाख ५४ हजार कर्मचारी कार्यरत थिए।

फेसबुकः फेसबुकको मूल कम्पनी मेटाले इन्जिनियरहरु भर्ती गर्ने आफ्नो योजना कम्तीमा ३० प्रतिशतले घटाएको छ। कम्पनीका सीईओ मार्क जुकरबर्गले कर्मचारीलाई हालैको इतिहासमा सबैभन्दा खराब आर्थिक समयको आशा गरिरहेको बताएका छन्। यो वर्ष मार्चको अन्त्यसम्म करिब ७८ हजार व्यक्तिले सामाजिक सञ्जाल र इन्टरनेट कम्पनीमा काम गरिरहेका थिए।

माइक्रोसफ्टः माइक्रोसफ्टले मे महिनामा कर्मचारीहरुलाई भन्यो कि आर्थिक उथलपुथलका लागि तयारी गर्न विन्डोज, अफिस र टोली समूहहरुमा भर्ती कम गर्न गइरहेको छ। हालै कम्पनीले केही कटौती पनि गरेको थियो। जुन कम्पनीको वर्कफोर्सको ०१ प्रतिशतभन्दा कम हो। २०२१ को अन्त्यसम्ममा कम्पनीमा १ लाख ८१ हजार कर्मचारी थिए।

नेटफ्लिक्सः भिडियो स्ट्रिमिङ प्लेटफर्म चलाउने कम्पनीले धेरै राउन्डमा कर्मचारी कटौती गरेको छ। नेटफ्लिक्सले पहिलो पटक मे महिनामा १५० जनालाई निकालेको थियो। त्यसपछि जुनमा कम्पनीले फेरि ३०० कर्मचारीलाई निकालेको थियो। विभिन्न कारणले ग्राहकको हिसाबले कम्पनी घाटामा छ। पहिलो त्रैमासिकमा नेटफ्लिक्सका ग्राहक संख्या २ लाखले घटेको थियो भने जुन त्रैमासमा कम्पनीले ९.७० लाख ग्राहक गुमाउनुपरेको थियो। गत वर्षको अन्त्यमा नेटफ्लिक्स कम्पनीमा ११ हजार ३०० कर्मचारी कार्यरत थिए।

टेस्लाः विश्वको सबैभन्दा धनीव्यक्ति एलन मस्कको इलेक्ट्रिक वाहन कम्पनी टेस्लाले जुनमा क्यालिफोर्नियाको सान माटेओमा एउटा सुविधा बन्द गरेपछि अटोपाइलट विभागका २०० कर्मचारीलाई हटायो। एलेन मस्क आफैँले मन्दीको डर व्यक्त गरेका छन् र स्पष्ट रूपमा भनेका छन् कि यो सामना गर्नका लागि कर्मचारी कटौती अपरिहार्य छ। उनले ब्लुमबर्गलाई एक अन्तर्वार्तामा आगामी तीन महिनामा करिब १० प्रतिशत तलब पाउने कर्मचारीले आफ्नो जागिर गुमाउन सक्ने बताए। सन् २०२१ को अन्त्यसम्ममा टेस्लासँग विश्वभर १ लाख कर्मचारी आबद्ध थिए।

अन्यः अन्य प्राविधिक कम्पनीहरुका बारेमा कुरा गर्दै ट्विटरले मेमा नयाँ जागिरहरु प्रतिबन्धित गर्यो। अनलाइन फर्निचर रिटेलर वेफेयर इंकले पनि नयाँ कर्मचारी भर्ना रोकेको छ। भिडियो गेम इन्जिन निर्माता युनिटी सफ्टवेयरले आफ्ना ४ प्रतिशत कर्मचारीलाई निकालेको छ। स्पोटिफाईले लगभग २५ प्रतिशत कर्मचारीलाई कामबाट निकाल्दैछ। पोकेमोन गो भिडियो गेम निर्माता नियान्टिक इंकले जुनमा आफ्ना ८ प्रतिशत कर्मचारीलाई निकालेको थियो।

स्रोत: एजेन्सी

Comments

Back to top