अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्ने क्रममा, बिहिबार १०१ डलर कायम

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेको छ । बिहीबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०१ डलरमा झरेको छ । गत जेठ १७ गते प्रतिब्यारेल १२४ डलर पुगेको थियो । त्यस्तै डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ९८ डलरमा झरेको छ ।

कच्चा तेलको मागमा सुस्तता आएसँगै भाउ घट्न थालेको बताईएको छ । हालै अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको एक रिपोर्टले २०२२ को अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्ने चेतावनी दिएको छ । तेल उत्पादक संघ ओपेकको हस्तक्षेप नहुनु र लगानीमा आकर्षण घट्नुले मूल्यमा कमी आउने सो ग्रुपको चेतावनीले यतिबेला विश्व तेल बजारमा तरंग पैदा गरेको छ । रुसले युक्रेनमा आक्रमण गरेसँगै यूरोपियन मुलुकहरुले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि तेलको मूल्य अकस्मात बढेको थियो । पछिल्लो समय चीन, भारत लगायत मुलुकले रुसबाट सस्तो दरमा तेलको माग बढाएका छन् ।

कच्चा तेलको मूल्यले अप्रत्यक्ष रुपमा नेपालीको भान्सासम्म प्रभाव पार्दछ । नेपाल आयल निगम (एनओसी)ले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट तेल खरिद गर्दै आएको छ । आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक १५–१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ । त्यही मूल्यसूचीका आधारमा एनओसीले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ गराउँछ । यसरी मूल्य घटेर आए नेपालमा पनि पेट्रोलियमको मूल्य घट्ने अनुमान गर्न सकिन्छ ।

Comments

Back to top