केमोथेरापी गर्दा कस्तो खाना खाने ? विज्ञहरु यस्तो भन्छन् !
क्यान्सर उपचारमा पोषणको निकै ठूलो महत्त्व भएको पोषणविदहरु बताउँछन् । हेर्दा सरल देखिए पनि रोग लागेको अवस्थामा औषधि र खानपान मिलाउन नसक्दा उपचारमै ढिलाई हुने पनि देखिन्छ।
क्यान्सर उपचारमा खानेकुरा नखाने भन्दा पनि औषधिको असर देखिएमा सोहीअनुसार खाना पकाउने र खाने तरिका दुवैमा परिमार्जन गर्नुपर्ने हुन्छ । बिरामीमा केमोथेरापी दिँदा दैनिक खाने खाना खान हुँदैन भन्ने गलत धारणा पाइन्छ ।
यसरी, खाना नखुवाई राख्दा बिरामीलाई पौष्टिक तत्व नपुगेर शारीरिक रूपमा कमजोर बन्दै जाने देखिन्छ। यसले रोग निको हुन पनि बाधा पुर्याउन सक्छ । क्यान्सरको उपचार मध्ये किमो दिँदा केही ‘साइड इफेक्ट’ हुन्छन्, जसले खानामा अरुचि बढाउने मात्र होइन खाएको नपच्ने, वाकवाकी लाग्ने हुनसक्छ। यसका लागि बिरामीलाई सम्झाएर उनीहरूको रुचिअनुसार र आवश्यकता अनुसार खाना खुवाउनुपर्छ।
केमो लगाउँदा पौष्टिक खानपानमा ध्यान दिनुपर्ने कारणहरु यस प्रकार छन्:
- शारीरिक तौल कायम राख्न
- स्फूर्त रहन
- केमोथेरापीको असर कम गर्न
- संक्रमणबाट जोगाउन
स्वस्थ र असल खाना भनेको मौसम अनुसारको हुने हुनाले महँगा र बेमौसमी खानेकुरालाई प्राथमिकता नदिनु नै राम्रो हुन्छ । प्रकृतिले क्यान्सरका लागि नै भनेर छुट्टै खानेकुरा दिएको छैन तर प्रकृतिमा भएको खानेकुरालाई नै मिलाएर खान सक्नुपर्छ । क्यान्सरसँग लड्नको लागि चाहिने खानेकुरा भनेको कार्बोहाइडे्रट,प्रोटिन,चिल्लो, भिटामिन,खनिज तत्त्व साथै पानी नै हो।
कार्बोहाइड्रेटको प्रमुख श्रोत चामल, गहुँ, कोदो, मकै, फापर, जौ, साथै पिठो,च्याख्ला, चिउरा,विस्कुट, पाउरोटी, सुजी, किनवा र आलु, तरुल, पिडालु, सख्खर खण्ड हुन्।
त्यस्तै प्रोटिनमा दाल, गेडागुडी, माछामासु, दुध, दही, अण्डा आदी पर्छन्। हाम्रो शरीरलाई चिल्लो पनि चाहिन्छ। चिल्लो पाइने खानाहररूमा तेल घ्यु नौनी,चिज,मायोनिज साथै काजु, पिस्ता, कागजी बदाम आदि पर्दछन्। मौसमी तरकारी फलफूल सबै खान सकिन्छ तर राम्ररी तातो पानीले पखालेर मात्र दिनुपर्छ ।
यी खानेकुराहरुलाई मिलाई खाने पद्धतिलाई ‘डाइट’ भनिन्छ जसको भूमिका क्यान्सर निको पार्नका लागि अत्यन्त महत्त्वपूर्ण हुने पोषणविदहरु बताउँछन् |
Comments