पृथ्वीनारायण शाहका सेनाले एकै रातमा बनाएको ऐतिहासिक बेलकोटगढी
नुवाकोट जिल्लाको ऐतिहासिक, रणनीतिक एवं सामरिक महत्व बोकेका स्थलहरूमध्येको एक हो बेल्कोटगढी । दुई हजार दुई सय उचाईमा अवस्थित बेलकोटगढी नगरपालिका-१० (साविकको बेल्कोट गाविस) मा पर्ने यो क्षेत्र पर्यटकीय क्षेत्रको दृष्टिले महत्वपूर्ण मानिन्छ ।
गढीको पर्खाल पृथ्वीनारायण शाह र उनका सैन्य समूहले वि.सं. १८०१ नुवाकोट आक्रमण गर्नका लागि एक रातमा नै निर्माण गरेको र गढीमा प्रयोग गरेको ढुङ्गा गढीबाट करिव एक किलोमिटर तल तादीनदी तथा आसपासका क्षेत्रहरूबाट ल्याइएको जनविश्वास यद्यपि प्रचलित छ, जसको ऐतिहासिक प्रमाण भने जुटाउन बाँकी नै छ । स्थानीय अनुभवि पुस्ताका अनुसार “बेलुका सुत्दा केहिपनि नरहेको उक्त स्थानमा विहान मान्छे ब्युजिँदा दरवार बनिसकेको थियो ।
चारैतिर ढुंगाको पर्खाल लगाई बनाइएको यस गढीको माथिल्लो भागको मध्य भागमा निरञ्जना भगवतीको मन्दिर समेत रहेको छ ।बेलकोटगढीमा रहेको निरञ्जना भगवती मन्दिरको दशैं घरमा विश्वकर्मा, नेपाली, मिजार, जनजाति र ब्राम्हण क्षेत्रीले संयुक्त रुपमा मन्दिरमा सामूहिक जमरा राख्ने गरेका छन् । धार्मिक तथा ऐतिहासिक रुपमा निकै महत्व बोकेको यहाँ सामूहिक जमराको अभ्यासलाई जातीय विभेद रहित समाज निर्माणको नमूना मान्न सकिने मन्दिरका पुरोहित नरनाथ पौडेल बताउँछन् ।
शाहले नुवाकोट माथि विजयी हासिल गरेपछि सुरु भएको सामूहिक जमरा राख्ने परम्परा पनि यहाँको उल्लेखनीय पाटो हो । यो पर्वलाई सबै जातजातिको साझा पर्वको रुपमा विकास गरिएको हुनसक्ने मन्दिरका उपासे मानबहादुर राना बताउँछन् ।
बेल्कोटगढी सदरमुकाम विदुरदेखि ३ कोष दक्षिणतर्फ करिव ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । पृथ्वीनारायण शाहले तत्कालीन बेल्कोटका राजा जयन्त रानालाई काटेर सो ठाउँमा जयन्तको शरीरलाई गाडी गढीमै उनको सम्झना र चिर शान्तिको लागि काठको मौलो गाडेका थिए । सो मौलो आजसम्म पनि उस्तै हालतमा रहेको छ । उक्त मौलोमा दशैको नवमीमा बली दिनुका साथै मेला समेत लाग्ने गर्दछ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि बेलकोटका राजा जयन्त रानालाई हाल गढी भएको स्थानमा मारेपछि सोही खुशीयालीमा वडादशैं उत्सव मनाउने थालिएको कथन पनि प्रचलित छ ।
‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा बेल्कोट र नुवाकोट आक्रमण गर्नका लागि बेल्कोट, जिलिङ, कुमरी र दुईपिपलको संगमस्थल चिम्टेश्वर महादेवस्थानसँगै पनि गढी निर्माण गरेका थिए । यस गढीलाई एकीकरण अभियानमा निर्मित पहिलो गढीका रूपमा इतिहासमा उल्लेख गरिएको पाइन्छ । त्यस स्थानका अग्लो डाँडामा सैनिकहरू लुक्न बनाईएको सुरुङ समेत रहेको छ (स्रोत: किशोर वली) ।’
साथै, १३८४ मा खस राजा आदित्य मल्ल नुवाकोट लड्न आएका उनले झिल्टुङ गाउँ कब्जा गरी बसेका समेत ऐतिहासिक स्रोतहरू भेटिन्छ । १८३१ को यो बेलकोटगढी किल्लाभन्दा प्राचीन अर्चलकोट र झिलतुङ गाउँ रहेको समेत नारायण नेपालले एक लेखमा बताएको पाइन्छ ।
एजेन्सी
Comments