ग्लोबल आइएमई बैङ्कको वार्षिकोत्सवको अवसरमा ३५ छात्रालाई छात्रवृत्ति प्रदान
ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।
बैङ्क पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्दैछ ।
ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत बैङ्कले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैङ्कले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ । यस कार्यक्रमअन्तर्गत बैङ्कले प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्राहरु छनोट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ ।
यो कार्यक्रम अन्तर्गत बैङ्कले अहिलेसम्म १४० जनालाई उक्त छात्रवृत्ति व्यवस्था गरी छात्राहरुको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ ।
समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरु आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैङ्कले जनाएको छ ।
यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैङ्कको विश्वास छ ।
एजेन्सी
Comments