आजदेखि जन्मिएको पुस्तालाई 'जेन बेटा' भनिने
आजदेखि जन्मिएको पुस्तालाई जेन (जेनेरेसन) बेटा भनिने भएको छ । सन् २०१० देखि शुरू भएको जेन अल्फाको विकासक्रम रोकिएर जेन बेटाको विकासक्रम शुरू भएको हो। जेन बेटाको विकास सन् २०३९ को अन्त्यसम्म रहनेछन् । सन् २०४० देखि अर्को पुस्ताको शुरुआत हुनेछ ।
सामाजिक अध्येता तथा जनसांख्यिक विश्लेषक मार्क म्याक्रिन्डलले अबको १५ वर्षसम्म जन्मिने पुस्तालाई जेन–बेटा नाम दिएका हुन् । उनका अनुसार प्रविधि क्षेत्रमा भएको तीव्र प्रगति, सामाजिक चुनौती र विश्वव्यापी परिवर्तनको आकार लिने समयमा हुर्किने भएकाले यस पुस्तालाई जेनेरेसन अर्थात् जेन बेटा नाम दिइएको हो ।
यो पुस्ता पूर्णरूपमा स्वचालित यातायात साधन, लगाउने मिल्ने स्वास्थ्य उपकरण र प्रविधि, भर्चुअल वातावरणलाई सामान्य दैनिक जीवनका रूपमा प्रयोग गर्ने पहिलो पुस्ता हुनेछ । जेन–बिटा पुस्ताका बालबालिकाले कुल जनसंख्याको १६ प्रतिशत हिस्सा ओगट्ने विश्लेषक म्याक्रिन्डलको अनुमान छ ।
जेन बेटा पुस्ताका बालबालिका मुख्यतया जेन वाई (१९८०–१९९४ ) र जेन जेड (१९९६–२०१०) का अभिभावकबाट जन्मनेछन् । जेन वाई र जेन जेड डिजिटल युग र सामाजिक सञ्जालमा अनुकूलित भइसकेको पुस्ता हुन् । यसअघिको पुस्ता अर्थात् जेन अल्फाको नामकरण पनि म्याक्रिन्डलले नै गरेका थिए ।
जेन–अल्फाले स्मार्ट प्रविधि र एआईको उदय भएको देख्न पाएको छ । तर अब जेन–बेटा एआईकै युगमा बाँच्न पाउनेछ। उनीहरूको दैनिक जीवनमा स्मार्ट प्रविधि र एआई सामान्य बन्नेछन् । जेनेरेसन बेटाका मानिसहरू प्रविधिको अधिकतम प्रयोग र दीर्घ जीवनका भए पनि जलवायु परिवर्तन, जनसंख्याको विश्वव्यापी संकुचन र स्रोतहरूको अभावजस्ता समस्या भोग्नुपर्ने छ ।
एजेन्सी
Comments