टर्किएको ब्ल्याक सीको तटमा समुद्री माइन फेला

इस्तानबुलको उत्तरपूर्वमा टर्किएको ब्ल्याक सी कृष्ण सागरको तटमा तैरिरहेको समुद्री माइन फेला परेको राज्य समाचार एजेन्सी एनाडोलुले जनाएको छ । उक्त विस्फोटक उपकरणलाई सोमबार नष्ट गरिने बताइएको छ । 

बोस्फोरस स्ट्रेट कृष्ण सागरमा प्रवेश गर्ने विन्दुबाट करिब ५० किलोमिटर पूर्वमा आग्वाको तटमा आइतबार यो उपकरण फेला परेको थियो । 

रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेदेखि युद्धरत दुवै पक्षले आफ्नो तटीय क्षेत्र सुरक्षित गर्न माइनहरू तैनाथ गरेका छन् तर ती प्रायः आँधीका कारण विस्थापित भएका छन् ।

व्यापारिक र सैन्य ढुवानी दुवैका लागि खतरालाई ध्यानमा राख्दै समुद्रको सिमानामा रहेका नाटो सदस्य टर्किए, बुल्गारिया र रोमानियाले माइन निष्क्रिय गर्ने कार्यको निरीक्षण गर्न माइन काउन्टरमेजर्स नेभल ग्रुप (एमसिएम ब्ल्याक सी) स्थापना गरेका छन् । यसले जुलाई १ देखि काम सुरु गरेको थियो ।

रोमानियाको रक्षा मन्त्रालयले यस महिना युद्ध सुरु भएदेखि कूल एक सय सात वटा तैरिरहेका माइन फेला परेको र नष्ट गरिएको बताएको छ । 

गत महिना टर्किएका भाइस–एडमिरल मुस्तफा कयाले पत्रकारहरूलाई बताएअनुसार कृष्ण सागरमा हालै चार सयभन्दा बढी माइन बिछ्याइएका थिए । तीमध्ये केही बगेर गएका छन् ।

एजेन्सी

Comments

Back to top