अमेरिकी कम्पनी 'एप्पल' को बजार मूल्य ४० खर्ब डलर पुग्यो
अमेरिकी कम्पनी एप्पलको बजार मूल्य ४० खर्ब डलर पुगेको छ । एप्पलका लागि यो अहिलेसम्मकै उच्च बजार मूल्य हो । लामो समय सुस्ताएको एप्पलको बजार 'भ्यालु' अर्थात् बजार मूल्य अहिले बढेपछि लगानीकर्ता उत्साहित भएका छन् ।
विशेष गरेर आईफोनमा कृत्रिम बाैद्धिकता अर्थात् 'आर्टिफिसिएल इन्टेलिजेन्स' (एआई) राखेपछि र एप्पलकै छुट्टै एआई कम्पनीले पनि राम्रो प्रगति गरेपछि बजार मूल्य आकाशिएको हो ।
अहिले एप्पलको बजार मूल्य चिप निर्माता कम्पनी एनभिडियाको भन्दा पनि माथि पुगेको छ । सूचना प्रविधि कम्पनीहरूमध्ये सबैभन्दा तीव्र गतिमा बजार मूल्य बढेको कम्पनी एनभिडिया हो । दुई वर्षमा यसको शेयर मूल्य आठ सय प्रतिशतले बढेको छ । तर एप्पलको भने जम्मा दोब्बरले बढेको छ । तर पनि एनभिडियाको भन्दा एप्पलको बजार मूल्य धेरै रहेको छ ।
गएको नोभेम्बरयता एप्पलको बजार मूल्य १६ प्रतिशतले बढ्दा बजार मूल्य साढे चार खर्ब डलरले उकालो लागेको छ। पछिल्ला वर्षहरूमा कम्पनीले आफ्नो एआई रणनीति बलियो बनाउँदै लगेको र बजारमा धेरैलाई आकर्षित गरेकाले सुखद परिणाम आएको एप्पलले जनाएको छ ।
एप्पलसँगै माइक्रोसफ्ट, अल्फाबेट, अमेजन र मेटा प्लेटफर्महरूले उदीयमान प्रविधिमा प्रभुत्व जमाउन प्रतिस्पर्धा गरिरहेका छन् ।
एजेन्सी
Comments