पनामा नहर नियन्त्रणमा लिने अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पको चेतावनी
अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर नियन्त्रणमा लिने चेतावनी दिएका छन् ।
एरिजोनामा भएको एक कार्यक्रममा ट्रम्पले पनामाको बाटो चल्ने अमेरिकी पानीजहाजलाई चर्को शुल्क लगाइएको भन्दै शुल्क घटाउन वा नहरको नियन्त्रण पुनःअमेरिकालाई दिन चेतावनी दिएको बीबीसीले जनाएको छ ।
आउँदो जनवरीमा अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्ने ट्रम्पले अमेरिकामाथिको चर्को दोहन तुरुन्तै रोक्नुपर्ने बताए ।
ट्रम्पको टिप्पणीपछि पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले नहर र वरपरको क्षेत्रको हरेक वर्ग मिटर आफ्नो देशको भएको प्रतिक्रया दिँदै पनामाको सार्वभौमसत्ता र स्वतन्त्रताका विषयमा कुनै पनि सम्झौता नहुने बताएको बीबीसीले जनाएको छ ।
यसअघि ट्रम्पले पनामा नहर अमेरिकाको लागि महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति भएको बताएको थियो । पनामा आन्ध्र र प्रशान्त महासागर जोड्ने मानवनिर्मित नहर हो ।
नहर निर्माणपछि अमेरिकाको पूर्वी र पश्चिमी तटबीचको दूरी झण्डै १२ हजार ८ सय ७५ किलोमिटर कम भएको छ । ८२ किलोमिटर लामो नहर पार गर्न पानीजहाजलाई ८ देखि १० घण्टा लाग्छ । नहरबाट वर्षेनि झण्डै १४ हजार पानीजहाज आवतजावत गर्ने गर्ने बीबीसीले जनाएको छ ।
एजेन्सी
Comments