बङ्गलादेश र पाकिस्तानका नेताहरु सम्बन्ध बलियो बनाउन सहमत
बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले पाकिस्तानसँग सम्बन्ध बलियो बनाउन दुवै देश सहमत भएको बताएका छन्। यो कदमले भारतसँगको बङ्गलादेशको चिसो सम्बन्धलाई थप परीक्षण गर्ने सम्भावना बढेको बीबीसीले लेखेको छ ।
पाकिस्तान र बङ्गलादेश सन् १९७१ को क्रूर युद्धमा विभाजित भएका राष्ट्र हुन् । त्यसपछि बङ्गलादेश पाकिस्तानको कट्टर प्रतिद्वन्द्वी भारततर्फ नजिकियो तर भारतको समर्थन पाएकी र अहिले त्यहाँ निर्वासनमा रहेकी नेता शेख हसिनालाई अगस्टमा विद्यार्थी नेतृत्वको क्रान्तिले सत्ताच्यूत गरेपछि ढाकाको नयाँ दिल्लीसँगको सम्बन्ध बिग्रिएको छ ।
इजिप्टमा एक सम्मेलनका क्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र बङ्गलादेशका अन्तरिम नेता युनुसबीच भेट वार्ता भएको हो । वार्ताका क्रममा सन् १९७१ को युद्धका बेलादेखि बाँकी रहेका गुनासोहरू समाधान गर्ने विषयमा छलफल भएको खबरमा उल्लेख छ ।
भेटवार्तापछि युनुसको कार्यालयबाट आएको विज्ञप्तिमा दुवै नेता व्यापार, वाणिज्य र खेलकुद तथा सांस्कृतिक प्रतिनिधिमण्डलको आदानप्रदानको माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन सहमत भएका उल्लेख छ ।
दुवै नेताले मुस्लिम बहुल आठ देशको डी–८ आर्थिक सहयोग सङ्गठनको कायरो शिखर सम्मेलनमा भाग लिइरहेका छन् ।
एजेन्सी
Comments