वीरेन्द्रबहादुर बस्नेतकोे सङ्घर्ष कथा र बुद्ध एयर
वीरेन्द्रबहादुर बस्नेतको जन्म वि.सं २०२१ आषाढ २३ गते बनारसमा भएको थियो । उनी बाबु सुरेन्द्रबहादुर बस्नेत र आमा आशा बस्नेतको जेठा सन्तान थिए । घरमा बिरु भनेर बोलाइन्थ्यो । बालक छँदा ‘बिरु त इन्जिनियर बन्नुपर्छ’ भन्थे । उनलाई पनि इन्जिनियर नै बन्न मन लाग्थ्यो । उनका बाबुको पनि छोरीलाई डाक्टर र छोरालाई इन्जिनियर बनाउने चाहना थियो ।
कृषक परिवारमा जन्मिएका हुन् उनी । बस्नेत परिवारको विराटनगरमा ८४ विघा जमीन थियो । विद्यालय तह उनले सेन्ट जेभियर्स र बुढानिलकण्ठ स्कुलबाट पूरा गरे । प्रथम श्रेणीमा एसएलसी पूरा गरेपश्चात् अमृत विज्ञान क्याम्पसमा भर्ना भए । बाबु सुरेन्द्र राजनीतिमा संलग्न रहेका कारण विरेन्द्रलाई पनि त्यो प्रभाव परेको थियो । विरेन्द्र पनि राजनीतिमा संलग्न हुँदा अध्ययन त्यति राम्रो हुन सकेन । सोहीकारण पढाई प्रभावकारी बनाउन विरेन्द्रलाई बुबाले दिल्ली पठाए । तर त्यहाँबाट नियमित कक्षा नलिई प्राइभेट परीक्षा दिए । पछि आमाको सल्लाहमा इलाहावाद गएर अध्ययन गरेपछि भने उनी प्रथम श्रेणीमा आइकम पास भए ।
प्रमाणपत्र तहको अध्ययन पश्चात् उनले विराटनगरको पैतृक जग्गामा माछा, केरा, भुईंकटहर लगायतका उत्पादन शुरु गरे । त्यहाँ उनले ५ लाख भुईंकटहर, १५ हजार केराका बोट र ५६ पोखरीमा माछा पालेका दिए । सबै उत्पादन विक्री नहुने भएपनि शुल्क घटाएर विक्री गर्ने उनको प्रचलन भने थिएन । केही समय पछि उक्त फार्मको जिम्मेवारी भाइले लिएपश्चात् विरेन्द्र काठमाडौं आए ।
विरेन्द्रले ३० बर्ष भित्रैमा बीकम पास गरेर लगानी विविधिकरणको योजना बनाइसकेका थिए । उनले एकजना साथीको सल्लाहमा ह्याण्डिक्राफ्ट शुरु गरे । यसको लागि लगानी अभाव भएको कारण बहिनीलाई विवाहमा दिएको चाँदी खड्कुलो र झारी बेचेर आरजू इन्टरनेशनल नामक कम्पनी शुरु गरे । व्यवसाय राम्रो भइरहेको थियो तर केही नजिककै व्यक्तिहरुको आँखा लागेपश्चात् भने उनी त्यस व्यवसायमा टिक्न सकेनन् । जसले गर्दा उनले नयाँ व्यवसाय गर्नुपर्ने भयो । व्यवसाय शुरु गर्नुभन्दा पहिले आफ्नो घर बनाउने मनसाय बनाए । जुन अहिलेको बुद्ध एयरकै भवन हो । ठीक त्यही समयमा उनका भाई शिवेन्द्र युक्रेनबाट पाइलट सकेर नेपाल फर्किए । त्यससँगै परिवारमा सल्लाह भई हेलिकोप्टर किन्न निर्णय भयो । कम्पनीको नाम बुद्ध एयर राखियो ।
शुरुमा महिनाको ६० हजार भाडा तिरेर १४ बर्षअघि कोठा लिएका थिए । थोरै स्टाफ राखेर कम्पनी चल्दै थियो । हेलिकोप्टर किन्न रसिया गएका भाइ शिवेन्द्र र दुई मारवाडीले हेलिकोप्टर किन्न पाएनन् । यता सरकारले पनि हेलिकोप्टर भन्दा हवाइजहाजलाई नै विशेष प्राथमिकता दिन शुरु गरेको थियो । यताउता गर्दागर्दै २४ लाख खर्च भइसकेको थियो । विरेन्द्रसँग सहकार्य गर्न तयार भएका २ मारवाडी व्यवसाय शुरु हुनुपूर्व नै अलग भए । आफूसँग भएको सबै पैसा सकियो । अरु भाइहरु बीच केही मतभेद उत्पन्न भयो । तर विरेन्द्र व्यवसायमा निरन्तरता दिन चाहे । जहाज किन्न करोडौं पर्ने उनलाई ठूलै समस्या प¥यो । यद्यपि उनलाई सहयोग गर्न नाताका एक जना भिनाजु तयार भए । यसको अलावा उनीहरुले १३ प्रतिशत व्याजदरमा १६ करोड रुपियाँ कर्जा लिने उद्देश्यले बैंक गए । जुन विरेन्द्रको निकै ठूलो हिम्मत थियो ।
विराटनगर र काठमाडौंका घर र जग्गा धितो राखेर उनले ९ करोड कर्जा लिन पाए । ८ करोडमा ३ ओटा जहाज किने । अर्को २ महिनामा थप ३ ओटा जहाज उनले किने । यतिबेलासम्म उनले मासिक १० हजार तलबमा रोज क्लब अफ कोरियामा जागिर गरिरहेका थिए, अब विरेन्द्रले उक्त जागिरबाट अवकाश लिए । लगानी निकै डुबिसकेकोले उनलाई आफन्त र नजिककाहरुले मूर्खको संज्ञा दिइरहेका थिए । यद्यपि बुद्ध एयरलाई सफल बनाउन विरेन्द्र र शिवेन्द्र निरन्तर लागिरहे ।
विरेन्द्रको सफलताको कथा निकै नै आरोहअवरोहयुक्त छ । निकै कठिन क्षणहरु उनले पार गरेका छन् । उनी अहिले पनि भन्छन्, जो मानिस व्यापारमा रमाउँदैन, उ व्यापारमा सफल हुनै सक्दैन । व्यापारमा विश्वास गर्नु निकै नै महत्वपूर्ण हुन्छ । यद्यपि विश्वासघात गर्ने व्यक्तिहरुसँग भने निरन्तर सहकार्य गर्न उपयुक्त नहुने उनको धारणा छ । नियतवश भएका गल्तीमा कारवाही गर्ने तर नजानि गरेका गल्तिमा भने उनले माफी दिन्छन् ।
व्यावसायिक समस्या समाधान बारे बस्नेत भन्छन्, कुनै समस्या आउने बेला त्यसलाई शुरुमा नै एडजस्ट गर्नु आवश्यक हुन्छ । आवश्यकता बमोजिम सबै डिपार्टमेन्टमा तालिम तथा सुपरिवेक्षण समेत गर्नुपर्ने हुन्छ । समस्या आयो भने त्यसबाट उम्किन खोज्ने व्यक्ति कहिल्यै पनि सफल हुनै सक्दैन ।
शुरुका दिनमा ५ बर्ष सम्म लगातार घाटामा गएको बुद्ध एयर नेपाल सरकारले ट्याक्स सिष्टम शुरु गरेपशचात् भने नाफाको दिशामा अघी बढिरहेको छ । हाल यस कम्पनीमा ५ सय भन्दा बढी कर्मचारीहरु आवद्ध छन् । पछिल्ला बर्षहरुमा बुद्ध एयर थपिएका २ एटिआर विमानको कारण निकै राम्रो तवरले चलेको छ । अब यही गतिमा आगामी १० बर्ष चल्नेछ।
एजेन्सी
Comments