अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्प दोस्रो पटक टाइम वर्ष व्यक्ति घोषित
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित भएका छन् ।
टाइम म्यागेजिनका प्रधान सम्पादक साम ज्याकोब्सले ऐतिहासिक राजनीतिक पुनरागमन, विश्वमा अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि डोनाल्ड ट्रम्पलाई टाइमको सन् २०२४ को वर्ष व्यक्ति घोषित गरिएको बताएको समाचारसंस्था एएफपीले जनाएको छ ।
यसले ट्रम्पको आश्चर्यजनक राजनीतिक पुनरागमनलाई स्वीकार गरेको छ र उनले नोभेम्बर पाँचको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका थिए ।
यसवर्ष ट्रम्पलाई व्यापारिक घोटालाको अभियोगमा दोषी ठहर गर्नुको साथै दुई पटक हत्याको प्रयास भयो । तर अन्त्यमा उनी दुवै सदनमा रिपब्लिकन बहुमतका साथ ह्वाइट हाउस फर्कने तयारीमा छन् ।
ट्रम्प दोस्रो पटक टाइम वर्ष व्यक्ति बनेका हुन् । यसअघि उनी सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएपछि टाइम वर्ष व्यक्ति चयन भएका थिए ।
टाइम म्यागेजिनले हरेक वर्ष विश्वव्यापी घटनाहरूलाई नाटकीय रूपमा आकार दिने व्यक्तिहरूलाई वर्ष व्यक्ति घोषणा गर्ने गर्दै आएको छ ।
वर्ष व्यक्तिको सूचीमा विश्व नेताहरूदेखि सांस्कृतिक क्रान्तिकारीहरू समावेश हुने गरेका छन् । टाइमले सन् १९२७ देखि ‘वर्ष व्यक्ति’ घोषणा गर्न थालेको हो ।
एजेन्सी
Comments