सिरियाली प्रधानमन्त्रीको आग्रह : विदेशमा रहेका सबै नागरिक फर्किनुहोस्

सिरियाको सङ्क्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका छन् ।

विद्रोही समूहहरूले मार्चसम्म देश सञ्चालनका लागि सङ्क्रमणकालीन सरकार प्रमुखको रूपमा नियुक्त गरेका मोहम्मद अल–बशीरले इटालीको कोरिएरे डेला सेरा दैनिकसँगको कुराकानीमा भने, ”पहिलो लक्ष्य विदेशमा रहेका लाखौं सिरियाली शरणार्थीलाई फिर्ता ल्याउनु हो ।”

विदेशमा रहेका नागरिकको मानव पुँजी र अनुभवले देशलाई आर्थिक रूपमा फस्टाउन सहयोग गर्ने भन्दै आफ्नो पहिलो काम विदेशमा रहेका सिरियाली नागरिकलाई स्वदेश फिर्ता गर्नु रहेको उनले बताए ।

उनले भने, “मेरो विदेशस्थित सबै सिरियालीलाई एउटा अपील छ : सिरिया अब एक स्वतन्त्र देश हो, जसले आफ्नो गर्व र प्रतिष्ठा कमाएको छ । फर्किनुहोस्, हामीले पुनर्निर्माण गर्नुपर्छ, पुनर्जन्म लिनुपर्छ र हामीलाई सबैको सहयोग चाहिन्छ ।”

इस्लामिक नेतृत्वको विपक्षी गठबन्धनले सिरियाको राजधानी दमास्कसमा पाँच दशक लामो क्रूर शासनको अन्त्य गरेपछि राष्ट्रपति बसर अल असद सिरियाबाट भागेका थिए ।

सिरियामा करिब १४ वर्ष लामो गृहयुद्धमा परी पाँच लाख मानिसको मृत्यु हुनुका साथै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित बनेका थियो ।

असदको पलायनसँगै देशले अहिले ठूलो अनिश्चितताको सामना गरिरहेको छ । साम्प्रदायिक हिंसाको बारेमा चिन्ता प्रकट भएको छ, यद्यपि विद्रोही आक्रमणको नेतृत्व गर्ने इस्लामिक समूह हयात तहरीर अल–शाम (एचटीएस) ले धार्मिक अल्पसङ्ख्यक नयाँ सिरियामा सुरक्षित हुने विश्वास दिलाउने प्रयास गरेको छ ।

इसाई, कुर्द र अलावीलगायत देशका विविध समुदायहरू अब बशीरले कस्तो सरकारको नेतृत्व गर्छन् भनेर पर्खिरहेका छन् ।

एजेन्सी

Comments

Back to top