कजाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना : दर्जनौंको मृत्यु
कजाकिस्तानको अक्ताउ शहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा दर्जनौँको मृत्यु भएको बताइएको छ ।
बीबीसीले दुर्घटनामा २५ जना बाँचेको र बाँकीको मृत्यु भएको हुनसक्ने जनाएको छ । यद्यपी अहिलेसम्म कति जनाको मृत्यु भएको खुलिसकेको छैन ।
स्थानीय अधिकारीकाअनुसार विमानमा ५ जना चालक दलका सदस्यसहित ६७ जना सवार थिए ।
काजाकिस्तानको आपत्कालीन मन्त्रालयले अहिले दुर्घटनास्थलमा पुग्न प्रयास भइरहेको जनाएको छ ।
समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै यो विमान अजरबैजान एअरलाइन्सको रहेको बताएको छ, जुन बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।
रोयटर्स समाचार एजेन्सीले प्रमाणित गरेको भिडिओमा ल्यान्डिङ गियर डाउन भएको विमान तीव्र गतिमा जमिनतर्फ गइरहेको देखिन्छ ।
अवतरण गर्ने प्रयास गरेको सेकेन्डपछि ठूलो फायरबल विस्फोट भएको देखिन्छ ।
जहाजमा अधिकांश अजरबैजानी नागरिक थिए तर रुस, काजाकिस्तान र किर्गिस्तानका केही यात्रुहरू पनि थिए।
एजेन्सी
Comments