सिरियाका शहरमा विद्रोहीको कब्जा जारी

सिरियाका विद्रोहीहरू राजधानी दमास्कसतर्फ अघि बढिरहेका छन् । यसैबीच, विद्रोहीहरूले दक्षिणी सिरियाको डेराका अधिकांश भाग कब्जा गरेका छन् ।

डेरा त्यही क्षेत्र हो जहाँ सन् २०११ मा राष्ट्रपति बसर अल असदको विरोध सुरु भएको थियो। त्यसपछि देशमा गृहयुद्धको अवस्था सिर्जना भयो र त्यसमा पाँच लाखभन्दा बढी मानिस मारिए । यो क्षेत्र रणनीतिक र प्रतीकात्मक रुपमा निकै महत्वपूर्ण छ । यो क्षेत्र जोर्डनको सिमानामा रहेको मुख्य क्रसिङको नजिक छ।

बेलायतमा रहेको सिरियन अब्जर्भेटरीले सरकारी सेनासँगको ‘हिंसक झडप’ पछि ‘स्थानीय विद्रोही समूहहरू’ ले सेनाको धेरै स्थानहरू कब्जा गर्न सफल भएको बताएको छ । जोर्डनका आन्तरिक मन्त्रीले सिरियाको दक्षिणमा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै देशले सिरियाको यस क्षेत्रसँगको सीमा बन्द गरेको बताएका छन् ।

हालै विद्रोहीहरूले हमामा कब्जा गरेका छन् र हजारौं मानिसहरू घरबाट भागेका छन् । गत हप्ता सरकारी सेनाले अलेप्पोको नियन्त्रण गुमाएपछि राष्ट्रपति बसर अल-असदका लागि यो दोस्रो ठूलो धक्का थियो ।

गत साता सिरियामा विद्रोहीहरुले अचानक आक्रमण गर्न थालेपछि अल्पसंख्यक समुदाय अलावाइटका मानिसहरु होम्स शहर घर छाड्न थालेका छन् । सिरियाको अर्को ठूलो सहर हामालाई विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले कब्जामा लिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार सिरियाली सेनाले विद्रोहीलाई रोक्न हवाई हमला गरेर होम्स र हामा जोड्ने राजमार्गलाई ध्वस्त पारेको छ । होम्स सहर हामाबाट ४० किलोमिटर मात्र टाढा छ। हमामा कब्जा गरेपछि होम्स शहरमा बसोबास गर्ने शिया समुदायका मानिसहरु सहरबाट भाग्न थालेका छन् ।

रुसी सेनाले एचटीएस विद्रोहीहरूलाई रोक्न धेरै मिसाइलहरू प्रहार गरेको छ, तर तिनीहरूले उनीहरूको प्रगति रोक्न सकेनन् । हामा कब्जा गरेपछि एचटीएस कमाण्डर अबु मोहम्मद अल जुलानीले विजयको सन्देश दिएका छन् ।

एजेन्सी

Comments

Back to top