इरानले दूरसञ्चारको विस्तारका लागि उपकरणसहितको रकेट अन्तरिक्षमा पठायो
इरानले दूरसञ्चारको विस्तारका लागि उपकरणसहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
इरानले शुक्रबार आफ्नो सबैभन्दा गह्रुँङ्गो 'पेलोड' एउटा उपग्रह र एउटा अन्तरिक्ष यानलाई सफलतापूर्वक प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । इरानले यान र उपग्रह दुवै स्वदेशमै विकसित गरेको हो । सरकारी टेलिभिजनका अनुसार तीन सय किलोग्राम तौल भएको पेलोडमा ‘फखर–१’ दूरसञ्चार उपग्रह र ‘समन–१’ अन्तरिक्षयान रहेको छ ।
इरान अन्तरिक्ष अनुसन्धान केन्द्रले सन् २०१७ मा सार्वजनिक गरेको ‘समन–१’ एक ‘कक्षीय प्रसारण प्रणाली’ हाे र यो तल्लो कक्षबाट माथिल्लो कक्षमा उपग्रहहरू पुर्याउनका लागि बनाइएको हो । यो प्रक्षेपण उपग्रहलाई उच्च कक्षमा स्थानान्तरण गर्ने दिशामा महत्त्वपूर्ण कदम मानिएको खबरमा उल्लेख छ ।
पेलोडहरू सेम्नान प्रान्तको इमाम खोमेनी प्रक्षेपण आधारबाट घरेलु सिमोर्ग उपग्रह वाहक प्रयोग गरेर प्रक्षेपण गरिएको हो। एक पौराणिक इरानी चराको नामबाट नामकरण गरिएको सिमोर्ग इरानको रक्षा मन्त्रालयले विकास गरेको तरल–इन्धन उपग्रह प्रक्षेपण वाहन हो ।
एजेन्सी
Comments