सैन्य कानून घोषणा गरेकोमा दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा माफी माग
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले 'मार्शल ल' अर्थात् सैन्य कानून घोषणा गरेकोमा माफी मागेका छन् । देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति युनले 'मार्शल ल' घोषणा गर्ने आफ्नो निर्णयका लागि माफी मागेको बीबीसीले जनाएको छ ।
आफ्नो घोषणाबाट हुने कुनै पनि कानूनी र राजनीतिक जिम्मेवारी मुद्दाहरूलाई बेवास्ता नगर्ने भन्दै उनले अर्काे 'मार्शल ल' घोषणा नहुने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति युनले आफ्नो कार्यकालको मुद्दा आफ्नो पार्टीमा छोडेको भन्दै आफ्नो सम्बोधन सक्नुभएको खबरमा उल्लेख छ । उनले देशको भावी व्यवस्थापनको जिम्मेवारी आफ्नो पार्टी र सरकारको हुने पनि बताएका छन् ।
राष्ट्रपति युनले मार्शल ल घोषणालाई लिएर राजीनामा दिनेबारे भने केही उल्लेख गरेनन् । तर उनकै पार्टीका नेताले पनि राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका छन् । यस्तै प्रमुख प्रतिपक्ष दलका नेताले राष्ट्रपति युनको भाषण ‘धेरै निराशाजनक’ भएको टिप्पणी गरेका छन् ।
यसैबीच सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युनविरुद्धको महाभियोगमा मतदान आजका लागि तय भएको छ । राष्ट्रपछि युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी गएको मङ्गलवार राति 'मार्शल ल’ घोषणा गर्दै केही घण्टामै फिर्ता गरेका थिए ।
एजेन्सी
Comments