इतिहासकार राणाको ९९ वर्षको उमेरमा निधन

इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा हिजो निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको निधन भएको उनकी बुहारी भगवती राणाले जानकारी दिएन् । राणालाई रक्तचाप कम नभएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

वि.सं.१९८२ चैत १५ गते चारबुर्जा दरबार अर्थात् हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवनमा उनी जन्मिएका हुन् । तत्कालीन जहानिया शासनको प्रतिबन्धका कारण उनले पाल्पा दरबारमै अध्ययन गरी युपी बोर्डबाट एसएलसी उत्तीर्ण गरेका थिए ।

उच्च शिक्षा हासिल गर्ने क्रममा भारतको वाराणसीमा रहेको जयनारायण कलेजबाट इन्टर–मिडियट उत्तीर्ण गरेका उनी बनारस हिन्दू विश्वविद्यालयमा बीकम पढ्नेक्रममा क्रान्तिमा लागेका थिए ।

उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारसम्बन्धी श्री ३ राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरु, लुकेछिपेका प्रतिभाहरु, मेरा जीवनका स्मृतिहरुलगायतका पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।

एजेन्सी

Comments

Back to top