दौड जित्ने व्यक्ति राजा बन्ने परम्परा भएको ठाउँ गोरखाको ‘लिगलिगकोट’
लिगलिगकोट गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर २ मा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो । समुन्द्री सतहबाट करिब १,४३७ मिटरको चाईमा अवस्थित लिगलिगकोट दौड जित्ने मानिस एक वर्षको लागि राजा बन्ने परम्पराको लागि प्रख्यात छ । लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो, हाल उक्त दरवार नभए पनि दरवारको भग्नावशेष त्यहाँ विद्यमान छ ।
कोट आसपासमा भत्किएर भग्नावशेष रूपमा रहेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका ससाना देवीदेवताका मन्दिर छन् । मर्स्याङ्दी नदी र चेपे नदीको सँगमस्थल चेपेघाटदेखि यस स्थान सम्म दौडेर प्रथम हुने घले राजा हुने परम्परा रहेको थियो ।
नामाकरण
लिगलिगकोटको नाम स्थानीय मगर भाषामा सुन्दर र मनमोहक दृश्यावलोकनलाई प्रयोग गरिने शब्द लिङलिङ र युद्धसामग्री राखिने स्थान तथा अग्लो स्थानमा रहेको किल्लाको लागि प्रयोग हुने शब्द कोट मिलेर बनेको लिङलिङकोटबाट अपभ्रंश भएर बनेको विस्वास गरिन्छ । यो स्थान डाँडाको टुप्पोमा रहेको र त्यहाँबाट हेर्दा वरपरको मनमोहक दृश्य देखिने हुदा, यो स्थानलाई लिङलिङकोट भनिएको र त्यही शब्द अपभ्रंश भएर लिगलिगकोट भन्न थालिएको हुनसक्ने इतिहासकार तथा स्थानीय बताउँछन् ।
खस राज्य स्थापना हुनु अघि लिगलिग लगायत सम्पूर्ण गोरखा क्षेत्र मगरहरूको अधिनमा थियो त्यसैले यहाँका नदी, पहाड, खोला आदिको नाम मगर भाषाबाट नै भएको पाइन्छ । मर्स्याङ्दी, दरौंदी, भुसुन्दी, घिरुङ्ग, खोप्लाङ्ग लगायतका नामहरू जस्तै उक्त स्थानको नाम लिङलिङ रहेको र पछि खसहरूको आगमनसँगै उक्त शब्दलाई गलत उच्चारण गरिएर लिगलिग भएको अनुमान गर्न सकिने इतिहासकारहरूको राय छ ।
इतिहास
प्राचीन समयमा गोरखा विभिन्न राजवंशद्वारा शासित भएको थियो । राजा यक्ष मल्ल पछि, तत्कालिन गोरखा राज्य राजा मुकुन्द सेनको कब्जामा पुग्यो । शक्तिशाली राजा मुकुन्द सेनले उपत्यकामा तीन प्रमुख हमलाको प्रयास गरेका थिए तर सफल हुन सकेनन् । बिसं १६०३मा मुकुन्द सेनको मृत्यु पश्चात उनको छोरा पिताले विजय प्राप्त गरेको विशाल भूमि शासन गर्नमा असमर्थ भए ।
त्यसपछि विभिन्न राज्यका मुखियाहरूले आफूलाई राजा घोषणा गरी राजकाज चलाउन थाले । यसरी मुकुन्द सेनको राज्य टुक्रिएर गोरखा क्षेत्रमा नै लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट, बार्पाक आदि राज्यमा विभाजित भयो । यसरी विभाजित राज्यहरू मध्ये लिगलिगकोटमा एउटा नयाँ परम्पराको थालनी भयो । दौडबाट राजा छान्ने परम्परा ।
प्रत्येक वर्ष विजया दशमीका दिन लिगलिगकोटको मुल दरवारबाट करीब १० किलोमिटर टाढा रहेको चेपेघाटदेखि दौडेर जो पहिला लिगलिगकोटसम्म पुग्थ्यो त्यो व्यक्ति एक वर्षको लागि लिगलिगकोटको राजा हुने गर्दथ्यो ।
एजेन्सी
Comments