प्लास्टिकजन्य प्रदूषण नियन्त्रणसम्बन्धी अन्तिम चरणको वार्ता निष्कर्षविहीन
प्लास्टिक प्रदूषण नियन्त्रणसम्बन्धी सन्धिका लागि दुई वर्षदेखि चलेको वार्ता निष्कर्षविहीन बनेको छ । वार्ताको अन्तिम चरणमा दक्षिण कोरियामा झन्डै दुई सय वटा देशका प्रतिनिधिबीच छलफल भएको थियो ।
प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि विश्वको पहिलो सन्धिमा सहमति जुटाउन दक्षिण कोरियाको बुसानमा भएको एक हप्ता लामो छलफल गएराति सकिएको हो । तर वार्ता निष्कर्षविहीन बनेको संयुक्त राष्ट्रसङ्घका वातावरण प्रमुख इन्गर एन्डरसनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिलेको असहमतिले यसअघि चार चरणमा छलफल गरी तयार पारेको सन्धिको मस्यौदा अलपत्र परेको छ ।
धेरै देशहरूले प्लास्टिकको नयाँ उत्पादनलाई सीमित गर्ने र केही रसायन प्रयोग भएका प्लास्टिक उत्पादनहरू चरणबद्ध रूपमा समाप्त गर्ने लक्ष्य निर्धारण गर्ने सम्झौताको प्रयास गरेका थिए । तर साउदी अरेबिया र रुसलगायत प्लास्टिक बनाउन प्रयोग हुने जीवाश्म इन्धन उत्पादन गर्ने देशहरूले त्यसलाई अस्वीकार गरेका बीबीसीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले वार्ता पूरै असफल नभई केही कुरामा सहमति जुट्न बाँकी रहेकोले अब कुनै बेला नयाँ चरणमा छलफल अघि बढ्ने बताएको छ ।
हरेक वर्ष लाखौं टन प्लास्टिकजन्य फोहोर निस्कने भएकाले प्लास्टिक व्यवस्थापन चुनौती बन्दै गएको छ । प्रयोग भएका झन्डै ९० प्रतिशत प्लास्टिक पुनरोत्पादनमा प्रयोग नभएकोले समस्या बढिरहेको विज्ञहरू बताउँछन् ।
एजेन्सी
Comments