सर्ज गोडिन: खरानीको धुलोबाट उठेका धनाढ्य

उद्योगधन्दामा आगालागी भएर आफ्नो सबै सम्पत्ती खरानी बनेपछि घरबारविहीन भएका कैयन उदाहरण भेटिन्छन् । तर, सर्ज गोडिन भने आफ्ना बुवाले सञ्चालन गरेको काठ मिलमा आगलागी भएपश्चात एक सफल व्यवसायी बने ।

बुबाको काठ मिलमा आगालागी हुँदा गोडिन १७ वर्षका थिए । क्यानडामा सन् १९६६ मा काठमिलमा आगालागी भएपछि उनको परिवारले सर्वस्व नै गुमायो।

आगलागी पश्चात बिमा कम्पनीहरुबाट क्षतिपूर्ति बापत रकम लिएर कैयाैँ व्यक्तिले आफ्नो पुरानो व्यवसाय पुन सञ्चालन गरेको पनि भेटिन्छ । तर, गोडिनका बुवाले काठ मिलको बिमा गरेका थिएनन्, जसका कारण उनी आफ्नो पुरानो व्यवसाय थाल्ने होइन, घरखर्च चलाउन जागिर खान बाध्य भए ।

काठमिलमा आगलागी भएपछि स्कुले जीवनमै गोडिनको काँधमाथि आफ्नो स्कुलको शुल्कसँगै परिवारको दैनिक जीवनयापनका लागि आवश्यक पर्ने रकम पनि जुटाउने जिम्मेवारी आयो ।

स्कुल सकिएपछि साँझको समयमा गोडन सुपरमार्केटमा काम गर्न जान थाले । शनिबार पनि उनी घरमा आराम गर्न बसेनन् । किनकि बुबाको व्यवसायमा आगो लागेपछि नै आराम भन्ने उनीबाट केही वर्षका लागि बिदा लिएर गएको थियो ।

सबै सम्पत्ती गुमेपछि एउटा सानो घर पनि बनाउनुपर्ने उनका परिवारका लागि बाध्यता थियो । यी सबै बाध्यताहरुका कारणले नै गोडिनले बिदाको दिन पनि ड्राइ क्लिनर्समा काम गर्न सुरु गरे ।

सम्पत्ती खरानी भए पनि जलेन व्यवसायी बन्ने चाहना

सारा सम्पत्ती खरानीमा परिणत भए पनि व्यवसाय गर्ने भने गोडिनकोे इच्छा भने जिवितै थियो । त्यसैले उनले २० वर्षको उमेरदेखि नयाँ व्यवसाय गर्नका लागि कमाएको रकममध्ये केही बचत गर्न थाले । २६ वर्षमा उनले सीजीआई कम्पनी स्थापना गरे । जुन अहिले बिश्वब्यापी चर्चित आइटी कम्पनी बनेको छ ।

उनको कम्पनीले अहिले बार्षिक  १० बिलियन क्यानेडीयन डलर आम्दानी गर्छ ।

उनी भन्छन् ‘म फेरि त्यो पुरानो अवस्थामा फर्कन चाहन्न, जतिबेला सर्वस्व गुमेर म सीजीआई स्थापनाका लागि छट्पटिँदै थिएँ । ‘

ग्यारेजबाट थाले व्यवसाय

लाभल विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेपछि उनले केही वर्ष २ वटा कम्पनीमा काम गरेे । त्यसपछि सन् १९७६ मा गोडेनले आफनै कम्पनी सीजीआई स्थापना गरे ।

उनले कम्प्युटरको व्यवसाय थाल्दा क्यानडामा कम्प्युटर व्यवसाय गर्ने लहर नै चलेको थियो । ग्यारेजमा कार्यालय खोलेर व्यवसाय सुरु गरेको उनको कम्पनीले पहिलो वर्षमा नै १ लाख ३८ हजार क्यानेडियन डलर आम्दानी गर्‍यो ।

त्यसपछि सन् २०१२ मा गोडिनले प्रतिस्पर्धि युरोपियन कम्पनी लोजिकाको खरिद गरे । लेजिका खरिदसँगै सीजीआईमा कामदारको संख्या दोब्बरभन्दा बढीले बृद्धि भयो । सन् २०१२ अघि उनको कम्पनीमा ३१ हजार कामदार थिए । तर, लोजिका खरिदसँगै सीजीआईमा कर्मचारीको संख्या ६८ हजार पुगेको छ।

अहिले विश्वभर रहेका २ हजारभन्दा सरकारी कार्यालयदेखि विश्वका २२ वटा ठूला बैंक पनि सीजीआईका ग्राहक छन् । साथै टायर उत्पादक कम्पनी मिचेलिन, विमान कम्पनी एयर फ्रान्स र लन्डको हेथ्रो विमानस्थल पनि उनका ग्राहक हुन् । 

 

कमाउने मात्रै होइन, बाँड्ने पनि

सन् २००० मा उनले क्यानडाका गरिब परिवारमा जन्मेका बालबालिको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले युथ लाइफ नामक संस्था पनि खोले । यस संस्थाले अहिले सम्म ६० मिलियन क्यानेडियन डलर बराबरको सहयोग समेत गरिसकेको छ ।

गोडेन अहिले क्यानडामा सफल व्यवसायी मात्रै होइन, दानबीरका रुपमा समेत चिनिन्छन् । गोडन् भन्छन् ‘यदि तिमीले व्यवसायमा सफलता हासिल गर्ने अवसर पायौ भने त्यसबाट आएको आम्दानी अन्यलाई पनि बाँड्नुपर्छ । ‘

उनले थपे ‘मलाई मेरो विगतले सम्झाउँछ, सहयोग गर्नु जीवनको एक महत्वपूर्ण काम हो ।’ एजेन्सी

 

Comments

Back to top