कोलम्बियामा गएको ज्वालामुखीको त्यो शक्तिशाली विस्फोट जसमा २३ हजारको ज्यान गयो

सन् १९८५ नोभेम्बर १३ मा उत्तरी कोलम्बियाको पहाडमा एकपछि अर्को गर्दै लगातार ज्वालामुखी जाँदा २३ हजारभन्दा धेरैले ज्यान गुमाए थिए ।

विज्ञहरुका अनुसार आन्देस हिमशृंखलामा गएको ज्वालामुखीको सबैभन्दा शक्तिशाली बिस्फोटको शक्ति झन्डै १० मेगाटन थियो र ज्वालामुखीको एक स्तम्भ आकाशमा आठ किलोमिटर उचाईसम्म फैलिएकोे थियो ।

त्यसपछि ज्वालामुखीको लहर (चट्टान–माटो, पानी मिसिएको) नजिकैका गाउँहरुमा झ¥यो । १३ वटा गाउँहरु प्रभावित बने, सबैभन्दा धेरै क्षति नदी किनारको अरमेरोमा भयो । टोलीमा प्रान्तअन्तर्गतको यो बस्ती १० मिनेटमै सखाप भयो । ज्वालामुखी रातको समयमा गएको थियो, जतिबेला यस बस्तीको २८ हजार जनसंख्यामध्ये अधिकांश ओछ्यानमै थिए, बिहान हुँदासम्म झन्डै २१ हजारले ज्यान गुमाइसकेका थिए ।

यस क्षेत्रमा वर्षदिनअघि नै ज्वालामुखी जानसक्ने संकेत देखिएको थियो, सेप्टेम्बरमा भूकम्प पनि गएको थियो । यदि समयमै जोखिम क्षेत्रका बासिन्दाहरुलाई अन्यत्र सार्न सकेको भए क्षति कम हुने थियो । यो ज्वालामुखी २० औं शताब्दीको दोस्रो भयंकर ज्वालामुखी हो ।

घटनाका दौरान जीवित भेटिएकी ओमेरा सान्चेज गार्जोन नामक १३ वर्षकी बालिकाको असफल उद्धारको घटनाले विश्वकै ध्यान खिच्यो । ध्वस्त भएको आफ्नो घरको अवशेषमाझ उनी थिइन्, टाउकोबाहेक शरीरका अन्य भाग पानीमा थियो । पुरिएको घरका अवशेष उनको शरीरमुनी थियो, जहाँ उनका खुट्टा च्यापिएका थिए । तर, ओमेराको बाँच्ने आशा मरेको थिएन । उद्धारकर्मी र पत्रकारहरुलाई उनको साहस र आशाले छोएको थियो, उनीहरुले बचाउनका लागि अथक प्रयास थाले ।

भग्नावशेष हटाएर खुट्टा निकाल्न आवश्यक अत्याधुनिक स्रोत–साधन उद्धारकमीहरुसँग थिएन । उद्धारकर्मीहरुले आमेरालाई खाना, पानी र सोडा दिए । उनलाई असह्य पीडा भइरहेको थियो र कमजोर हुँदै गइरहेकी थिइन् । फ्रेन्च फोटोग्राफर फ्रयाङक फोरनाइरले यस कारुणिक क्षणलाई क्यामेरामा कैद गरिरहेका थिए । खुट्टा काटेर बालिकालाई बाहिर निकाल्ने उपाय थप जोखिमपूर्ण र अमानवीय हुने सुुझाव चिकित्सकहरुको थियो । किनकी, उपचारका लागि पनि स्रोतको अभाव थियो । हरेश खाइसकेका उद्धारकर्मीहरुले ओमेरालाई थप पिडा दिएर जोखिम मोल्नुभन्दा आरामपूर्वक मर्न दिनु नै उचित सम्झे । ६० घण्टासम्म पीडा सहेर बाँचेकी यी बालिकाको अन्ततः मृत्यु भयो ।

खिचेको फोटो विश्वका धेरै पत्रपत्रिकामा छापियो, स्वयंमसेवक उद्धारकर्मीहरु साधन–स्रोत बिना नै घाइते र बेपत्ताहरुको खोजीमा खटिएपनि सरकारले पर्याप्त प्रतिक्रिया जनाउन नसकेको यर्थाथलाई यस घटनाले उजागर गयो । सन् १९८६ मा यो फोटोलाई ‘वल्र्ड प्रेस फोटो अफ द इयर’ चयन गरिएको थियो ।

Comments

Back to top