सातौँ चेम्बर एक्स्पो बिहीबारदेखि भृकुटीमण्डपमा

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि हुने भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन एवम् बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले बिहीबारदेखि सोमबारसम्म सो एक्स्पो हुन लागेको हो ।

एक्स्पोमा कृषि सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तुहरू प्रदर्शनीमा राखिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । घर–जग्गा व्यवसाय, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू समेत प्रदर्शनीमा रहने छन् । कृषि, हस्तकलालगायत स्थानीयस्तरमा उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन एवम् साना व्यवसायीहरूको आर्थिक गतिविधि विस्तार गर्नका लागि एक्स्पोको आयोजना गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो हुन लागेको हो । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका एक सय ६० भन्दा बढी स्टल रहने आयोजक चेम्बरले उल्लेख गरेको छ । एक्स्पोमा फोकस कन्ट्रीका रूपमा दक्षिण कोरिया रहेको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको छ । क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, नवीन प्रविधिको प्रयोग एवम् व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने अध्यक्ष मल्लले बताए । प्रदर्शनीमा इन्डियन चेम्बर अफ कमर्सको अगुवाइमा भारत आयुष एक्जिविसन कन्फरेन्स समेत सञ्चालन हुनेछ ।

प्रदर्शनीमा नेपालमा रहेका बंगलादेश, रुस र मलेसियाको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ । यस्तै बङ्गलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउने छन् ।

Comments

Back to top