नुन किन र कति खाने ? आयोडिनयुक्त नुनको महत्व यस्तो छ!

आयोडिन भनेको एक प्रकारको लवण हो । यो माटोमा पाइन्छ । जनावर तथा मानव शरीरको वृद्धि र विकासका लागि आयोडिन नभई हुँदैन । मानिसको शरीरका अत्यन्त संवेदनशील अंगहरू– मस्तिष्क र सम्पूर्ण स्नायु प्रणालीलाई राम्ररी सञ्चालन गर्नका लागि आयोडिनको जरुरत पर्दछ ।

स्रोत

समुद्री खाना

आयोडिनयुक्त नुन र

आयोडिन भएको जमीनमा उमारेका खाद्य पदार्थहरूः सलगम, बन्दा, पालुङ्गो, ब्रोकाउली आदि ।

नेपालमा किन आयोडिनको कमी हुन्छ?

पृथ्वी उत्पत्ति भएदेखि नै माटोमा आयोडिन थियो । तर पछि विस्तारै हिमनदी, बाढी, भू–क्षय आदिले गर्दा आयोडिन भएको माटो समुद्रमा पुग्यो । त्यसैले समुद्रको पानी र समुद्रमा पाइने खाद्यवस्तुमा बढी आयोडिन पाइन्छ ।

समुद्रबाट सूर्यको प्रकाशले पानीको बाफसँगै आयोडिनलाई उडाएर वायुमण्डलमा पुर्याउँछ । पानी पर्दा हावामा रहेको आयोडिन पानीसँगै जमिनमा झरी माटोमा मिसिन्छ । तर त्यसरी समुद्रबाट
हावामा पुगी वर्षाको माध्यमले मिसिएर प्राप्त हुने आयोडिनको मात्रा अति थोरै हुन्छ । त्यसमा पनि नेपालमा भू–क्षय, बाढी आदिको कारणले माटोमा आयोडिन अडिरहन पाउँदैन । फेरि समुद्रमा नै पुग्दछ । तराईमा पनि खासगरी वर्षायाममा पानी जम्ने र बाढी आउने हुँदा माटोमा भएको आयोडिन पखालिएर समुद्रमा पुग्छ । यसरी आयोडिनको चक्र चलिरहने हुनाले आयोडिनको कमी पनि निरन्तर भइरहन्छ ।

शरीरमा आयोडिनको कमी भए के असर पर्छ ?

गलगाँड देखिन्छ ।

मानिस सुस्त मनस्थिति (बोधो दिमाग) को हुन्छ ।

शारीरिक र मानसिक वृद्धि र विकासमा कमी आउँछ र वाम पुड्के, लाटो, लठेब्रो हुन्छ ।

सम्झने शक्ति कम हुन्छ र पढाइमा कमजोर हुन्छ ।

गलगाँड आएपछि रोगीलाई काम गर्न, यताउता हिंडडुल गर्न, बोल्न अप्ठेरो हुन्छ । यसका साथै उसलाई मानसिक चिन्ता पर्छ र मनोवैज्ञानिक रुपमा हीनता बोध हुन्छ ।

गलगाँड ठूलो भएमा श्वास नली थिचिएर मृत्यु हुने खतरा हुन्छ ।

गर्भवती महिलामा आयोडिनको कमी भएमा गर्भमा रहेको बच्चा मर्न सक्छ ।

आयोडिनको कमी हुनबाट कसरी बच्ने ?

आयोडिन पाइने खानेकुरा दिनहूँ खानामा खानुपर्छ ।

दुई बालबालिकाको लोगो भएको आयोडिनयुक्त प्याकेटको नुन खानुपर्छ ।

आयोडिनको कमी भएको थाहा पाउने वित्तिकै उपचार गर्न नजिकको स्वास्थ्य चौकीमा जानुपर्छ ।

नुनमा आयोडिन भए नभएको कसरी पत्ता लगाउने ?

घरमा प्रयोग गर्ने गरेको दुई चम्चा नुन टेबुलमाथि सफा पेपरमा राख्ने ।

आयोडिन परीक्षण किटबाट दुई तीन थोपा सोलुसन नुनमा राख्ने र हेर्ने ।

नुनको रंग निलो भएमा त्यस नुनमा आयोडिन हुन्छ र रंग बदलिएन भने त्यस नुनमा आयोडिन हुँदैन भनेर किटान गर्न सकिन्छ ।

किन नुनमा आयोडिन मिसाएर बेचिन्छ?

नुन मानिस तथा गाईवस्तु सबैलाई चाहिन्छ ।

नुन धनी, गरीब, ठूलो–सानो सबैलाई चाहिन्छ ।

नुन दैनिक खानुपर्ने वस्तु भएकोले आयोडिन निरन्तर शरीरले पाइरहन्छ ।

आयोडिन नुनमा मिसाउँदा रङ, स्वाद, गन्ध, तौल कुनैमा पनि फरक पर्दैन ।

नुनमा कम खर्चमा सजिलैसँग आयोडिन मिसाउन सकिन्छ ।

प्याकेटेटको नुन ल्याएपछि त्यसमा भएको आयोडिनलाई उडेर खेर जान नदिन के गर्ने?

आयोडिनयुक्त नुनलाई प्लाष्टिकको ब्याग वा बट्टामा टम्म बिर्को लगाई बन्द गरी राख्ने ।

आयोडिनयुक्त नुनलाई तातोले भेट्ने, सूर्यको प्रकाश प्रत्यक्ष पर्ने वा पानीले भिज्ने ठाउँमा खुल्ला नराख्ने ।

आयोडिनयुक्त नुनको प्याकेट खोलिसकेपछि धेरै समयसम्म खुला नराख्ने ।

आयोडिनयुक्त नुन सकभर खाना तयार भइसकेपछि मात्र खानामा मिसाउने ।

घाममा आयोडिन उडेर जाने र पानीले पखालिने हुँदा नुनलाई घाम र पानीबाट जोगाउनुपर्दछ ।

नेपालको माटोमा आयोडिनको कमी हुनाले बाहिरी स्रोतबाट यो कमी पूरा गर्नुपर्दछ ।

Comments

Back to top