शान्ति सम्झौताअन्तर्गत युक्रेनमा नेटो सेनालाई रुसले स्वीकार नगर्ने
अमेरिकासँगको उच्चस्तरीय वार्तापछि रुसले शान्ति सम्झौताअन्तर्गत युक्रेनमा युरोपियन देशहरु रहेको नेटो समूहका सेनालाई आफ्नो देशले स्वीकार नगर्ने बताएको छ ।
साउदी अरेबियामा भएको वार्तामा विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो देशले युक्रेनमा कुनै पनि शान्ति सम्झौताअन्तर्गत नेटो देशका शान्ति सेनालाई स्वीकार नगर्ने बताएको बीबीसीले जनाएको छ ।
उनले रुस युद्ध अन्त्यका लागि प्रक्रिया थाल्ने पक्षमा भएपनि युक्रेन सामेल भएर नेटो रक्षा गठबन्धनको कुनै पनि विस्तार रूसको लागि प्रत्यक्ष खतरा हुने भन्दै रूसको अघिल्लो अडानलाई दोहोर्याएका हुन् ।
यसैबीच युरोपेली नेताहरूले युक्रेनसँगको शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रुस र अमेरिकाबीचको वार्ता प्रयासका बारेमा संयुक्त धारणा बनाउन पेरिसमा बैठक बसे पनि मत बाझिएकाले वैठक बिना निष्कर्ष सकिएको छ ।
बेलायतले आवश्यक परे युक्रेनमा आफ्ना सेना तैनाथ गर्न सक्ने बताइरहदा जर्मनी, पोल्याण्ड लगायतका अरु देशले युरोपेली सेना तैनाथ गर्नु युक्रेनमा शान्ति कायम गर्ने सबैभन्दा जटिल र कम प्रभावकारी तरिका हुने बताइरहेका छन् ।
यस्तै रुस र अमेरिकाले युद्ध अन्त्यका लागि वार्ता शुरू गर्न छुट्टै टोली तोक्ने सहमति गरेका छन् । बैठकपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हिजोको वार्ता युद्ध अन्त्यको प्रयास स्वरुप पहिलो चरणको भएको तर महत्त्वपूर्ण रहेको बताएको खबरमा उल्लेख छ । तर युक्रेनलाई वार्तामा नबोलाइएकोले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वार्ताका प्रस्ताव र निर्णय स्वीकार नगर्ने बताउदै आएका छन् ।
एजेन्सी
Comments