अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा झन्डै १० हजार सङ्घीय कर्मचारी बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै १० हजार जना सङ्घीय कर्मचारीलाई बर्खास्त गरेका छन् । राष्ट्रपति ट्रम्पले आन्तरिक मामिला, ऊर्जा, सैन्य मामिला, कृषि तथा मानव सेवा लगायतका विभागमा कार्यरत कर्मचारीहरू बर्खास्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

बर्खास्तीमा पर्नेहरूमा धेरैजसो परीक्षणकालमा रहेका कर्मचारीहरू रहेका छन् । बोस्टनको अदालतले कर्मचारीलाई निष्कासन गर्ने बाटो खुला गरिदिएपछि ट्रम्पले एकैपटक ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेका हुन् ।

ट्रम्प प्रशासनले यसअघि स्वेच्छिक राजीनामा गर्न सङ्घीय कर्मचारीहरूलाई इमेल पठाएको थियो । स्वेच्छिक राजीनामा गर्दा आउँदो सेप्टेम्बर महिनासम्म काम नगरी तलब दिइने आश्वासन पनि दिइएको थियो । इमेल पाएकामध्ये ७५ हजार जना कर्मचारीले राजीनामाको प्रस्ताव स्वीकार गर्दै इमेलको जवाफ फर्काएका थिए ।

यसैबीच बर्खास्तीमा परेका कर्मचारीहरूले आफूहरू राज्यको धोखाधडीमा परेको गुनासो गरेका रोयटर्सले जनाएको छ । ट्रम्पले कर्मचारीको सङ्ख्या घटाएर खर्च कटौती गर्ने जिम्मेवारी सरकारी दक्षता विभाग (डीओजीई) का प्रमुख एलन मस्कलाई दिएका छन् ।

एजेन्सी

Comments

Back to top