गुगलले एकाधिकार विरोधी कानून उल्लङ्घन गरेको चीनको आरोप
चीनले अमेरिकी प्रविधि कम्पनी गुगलमाथि विरोधी कानून उल्लङ्घनको अनुसन्धान शुरू गरेको बताएको छ । अमेरिकाले चिनियाँ वस्तुहरूमा १० प्रतिशत भन्सार दर लगाएको समयमा चीनले गुगलमाथि अनुसन्धान शुरू गरेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
राज्य बजार नियमन प्रशासनले गुगलले चीनको एकाधिकार विरोधी कानून उल्लङ्घन गरेको आशङ्का गरेको बताएको छ । प्रशासनले विज्ञप्ति निकालेर अनुसन्धान शुरू गरेको बताए पनि गुगलविरुद्धको आरोपहरूका बारेमा थप विवरण सार्वजनिक गरेको छैन ।
गुगलको कोर सर्च इन्जिन र यसका धेरै सेवाहरू चीनमा प्रतिबन्धित छन् । सन् २०११ मा गुगलले चीनको मुख्य भूमिमा रहेको आफ्नो चिनियाँ भाषाको सर्च इन्जिनलाई हङकङमा सारेको थियो । यस्तै चीनले अमेरिकी फेशन समूह पीभीएच कर्प र बायोटेक जायन्ट इलुमिनालाई पनि अविश्वसनीय संस्थाहरूको सूचीमा थपेको छ ।
अमेरिकाले टिकटक लगायतका चिनियाँ एप र प्रविधि कम्पनीलाई विभिन्न बहानामा अवरोध गरेपछि चीनले पनि गुगलमाथि अनुसन्धान थालेको हो ।
यसैबीच चीन र अमेरिकाबीच व्यापार क्षेत्रमा पनि तनाव शुरू भएको छ । चीनले मंगलबारदेखि अमेरिकी वस्तु आयातमा थप १५ प्रतिशतसम्म कर थपेको छ ।
एजेन्सी
Comments