अमेरिकी सामानमा १५ प्रतिशतसम्म थप कर लगाउने चीनको घोषणा

चीनले अमेरिकी उत्पादनहरूमा प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामान आयातमा १० प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए । चीनले आजसम्म यो निर्णय फिर्ता नलिएमा जवाफ दिने बताएको थियो । आज चीनले अमेरिकाबाट आउने सामानमा थप शुल्कको घोषणा गरेको हाे ।

अमेरिकाबाट कोइला र तरल प्राकृतिक ग्यासको आयातमा चीनले १५ प्रतिशत कर थपेको छ । यस्तै कच्चा तेल, कृषि मेशिनरी सामान, पिकअप ट्रक र ठूला इन्जिनका कारहरूमाथि १० प्रतिशत शुल्कको घोषणा भएको छ । यसले अमेरिकी सामानलाई चीनमा प्रतिस्पर्धा गर्न गाह्रो हुनेछ।

चीनको अर्थ मन्त्रालयले विज्ञप्ति निकालेर ट्रम्प प्रशासनले विश्व व्यापार सङ्गठनका कानून र नियम तोडेको पनि आरोप लगाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले एकतर्फी कर लगाउनु विश्व व्यापार सङ्गठनको नियमको गम्भीर उल्लङ्घन हो । यसले चीन र अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहयोगलाई पनि कमजोर बनाउँछ ।’

अमेरिकाले यसअघि मेक्सिको र क्यानडाविरुद्ध २५–२५ प्रतिशत कर लगाएकोमा ३० दिनका लागि स्थगित गरेको छ।

एजेन्सी

Comments

Back to top