आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु, प्रधानमन्त्री ओलीसहित शीर्ष नेताले सम्बोधन गर्दै
अध्यादेश विवादपछि अन्ततः आज (शुक्रबार) सङ्घीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । सत्तारुढ दल र प्रतिपक्षी दुवैले यसको तयारी गरिसकेका छन् ।
सत्ता पक्ष पछिल्लो समय ल्याइएका ६ वटा अध्यादेश संसद्बाट पारित गर्ने तयारीमा छ भने प्रतिपक्षी संसद् रोकेर बदनियतपूर्ण तरिकाले ल्याइएको अध्यादेश फिर्ता हुनुपर्ने माग गरिरहेका छन् ।
बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनले भने, ‘हामीले अध्यादेश अस्वीकार गर्ने सूचना दिनेछौँ । नियमावलीअनुसार सूचना दर्ता गर्नेछौँ ।’
अध्यादेश ल्याउने सरकारको प्रक्रिया नै गलत भएको माओवादी केन्द्रको निष्कर्ष छ । छिटोभन्दा छिटो डेलिभरी दिन अध्यादेश ल्याएको भन्ने सरकारको अभिव्यक्ति जनतालाई भ्रममा राख्नका लागि मात्र भएको प्रमुख सचेतक पाण्डे बताउँछन् ।
यस्तै, सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे पनि बैठकमा छलफल भएको छ । उनले भने, ‘त्यो विधेयकमा सजायबारे छलफल भएको छ । अहिले राष्ट्रियसभामा भएकोले हामी त्यसलाई केल्याएर निर्णय गर्नेछौँ ।’
प्रमुख प्रतिपक्षी दलको हैसियतले संसद् बैठकलाई थप प्रभावकारी कसरी बनाउने विषयमा छलफल भएको पाण्डेले बताए । ‘संसदमा सशक्त ढङ्गले प्रस्तुत हुने निर्णय बैठकले निर्णय गरेको छ,’ उनले थपे ।
यस्तै माओवादी केन्द्रसँगै संसद्का अन्य विपक्षी दलहरूले पनि सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् ।
बिहीबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले शुक्रबारदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशविरुद्ध उभिने निर्णय गरेको हो ।
विपक्षीले विरोधको तयारी गरिहँदा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले भने टसमस नहुने देखिएको छ । नेपाली काङ्ग्रेसलगायत सबै सत्तारुढ दलको साथ पाएपछि एमाले हौसिएको हो ।
यसअघि अध्यादेशको पक्षमा वकालत गर्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले विशेषगरी प्रमुख माओवादी केन्द्रले पूर्वाग्रही ढङ्गले सरकारको विरोध गरिरहेको आरोप लगाए ।
अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीबाट हटेको पीडा अहिले माओवादी केन्द्रले पोखिरहेको उनले टिप्पणी गरे । सरकारले संविधान बमोजिम नै अध्यादेश ल्याएकाले यसको विरोधको कुनै तुक नभएको उनले स्पष्ट पारे ।
मुख्य सचेतक बर्तौलाले माओवादी केन्द्रलाई विगतमा आफूले ल्याएको अध्यादेश सम्झन पनि आग्रह गरे । संसद्मा बहुमत पुर्याएर अध्यादेश फिर्ता गराउन उनले विपक्षीलाई चुनौतीसमेत दिए ।
‘अध्यादेश संविधानबमोजिम ल्याइएको हो । प्रतिस्थापन विधेयक ल्याएर सुधार गरिने ठाउँ प्रशस्तै छ । यो जान्दाजान्दै उहाँहरूले केही विषय नपाएर राजनीतिक मसला बनाउनु भएको छ,’ केही दिनअघि नेपालभ्युजसँगको कुराकानीमा उनले भनेका थिए, ‘बहुमत पुर्याएर अध्यादेशलाई संसद्बाट फिर्ता गराए त भइहाल्यो नि !’
आफूहरू प्रतिपक्षीका विरोधबीच संसद्मा सशक्त, प्रभावकारी र रचनात्मक रूपमा समान धारणका साथ प्रस्तुत हुने मुख्य सचेतक बर्तौलाले बताए । उनका अनुसार आजको बैठकमा सबै अध्यादेश पेस हुनेछन् । यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
‘अध्यादेश पेस भएपछि त्यसलाई परिपक्क हुन केही समय लाग्छ । यसर्थ २२ गते सबै अध्यादेश निर्णायार्थ पेस हुने कार्यतालिका राखिएको हो । सोही दिन सबै अध्यादेश स्वीकृत हुने काम हुन्छ,’ उनले भने ।
सरकारले संसद् अधिवेशन रोकेर एकपछि अर्को अध्यादेश ल्याएपछि प्रतिपक्षी आक्रोशित बनेका थिए । यसपछि सरकारले ढिलोगरी (विगतका अभ्यासभन्दा करिब एक महिनाभन्दा बढी समयपछि) माघ १८ का लागि संसद् अधिवेशन बोलाएको हो ।
एजेन्सी
Comments