नेपाल शब्दको उत्पत्ति र यसको प्राचीनता

नेपाल शब्दको उत्पत्तिका सम्बन्धमा अझैसम्म पनि विद्वान्हरूका बीचमा निकै विवाद चलिरहेकै छ । यसमा अझ बढी अनुसन्धान तथा खोजी हुन बाँकी नै छ । विद्वान्हरूले यस सम्बन्धमा आ-आफ्ना विचार छुट्टाछुट्टै किसिमबाट प्रस्तुत गर्न कुनै न कुनै आधार समात्ने प्रयास गरेका छन् । यीमध्ये चार आधारहरूलाई मुख्य रुपमा चर्चा गरिन्छ :

१. भाषागत आधार : नेपाल शब्दको उत्पत्तिका सम्बन्धमा भाषालाई आधार मान्नेहरूले यसको सामञ्जस्य तिब्बती, किराँती, नेवारी, लेप्चा र संस्कृतसँग देखाउन खोजेका छन् ।

युरोपीय विद्वान् सेसिल वेन्डालका विचारमा नेपाल शब्दको उत्पत्ति तिब्बती भाषाबाट आएको हो । तिब्बती भाषामा ‘ने’ को अर्थ घर र ‘पाल’ को अर्थ ऊन भएको हुँदा नेपाल भन्नाले ऊनको घर भन्ने बुझिन्छ । प्राचीन नेपालको ऊनको निम्ति प्रसिद्ध भएको हुँदा यस्तो नाम राखिनु सम्भव छ भन्ने उनको तर्क थियो ।

किराँती भाषाबाट नेपाल शब्दको उत्पत्ति भएको कुरालाई मान्नेहरूको विचारमा किरात भाषाको ‘ङयेत्’ र ‘पा’ शब्दले नेपाल बनेको हो । यस भाषाअनुसार ‘ङयेत्’ को अर्थ वस्तु र ‘पा’ को अर्थ मानिस हुनाले वस्तुसँग सम्बन्धी मानिसका रुपमा नेपाल शब्दलाई लिइएको छ । ङयेतपाको सांस्कृतिक रुप नै नेपाल मानिन्छ ।

नेवारी भाषामा ‘ने’ को अर्थ मध्य र ‘पा’ को अर्थ देश हुनाले पहाड तथा हिमालका बीचमा रहेको देशका रुपमा यसलाई नेपाल भनिएको हो भन्ने एक थरीको भनाई छ । नेवारी भाषामा नेपाललाई केवल ‘नेपा’ मात्र भनिन्थ्यो । कसैकसैले नेपाल नाम बाटै नेवार बन्न पुगेको विचार व्यक्त गरेका छन् ।

ए. एल्. बाडेलका विचारमा भोट-बर्मेली भाषा कुलका आधारमा ‘ने’ को अर्थ ‘आवास’ स्थल र ‘पाल’ को अर्थ निवासी हुनाले उक्त भाषाका आधारमा धार्मिक स्थलमा बस्ने मानिसका रुपमा नेपाल शब्दको प्रयोग गरिएको हो ।

सिल्भन लेभीले लिप्चा भाषाका आधारमा नेपाल शब्दको उत्पत्ति भएको कुरा देखाउन खोजेका छन् । उक्त भाषाअनुसार ‘ने’ को अर्थ पवित्र र ‘पाल’ को अर्थ गुफा हुनाले पवित्र गुफा भएको ठाउँ जनाउने अर्थमा नेपाल नाम राखिएको बुझिन्छ ।

संस्कृत भाषामा ‘नीप’ को अर्थ उपत्यका र ‘आल’ को अर्थ घर हुन्छ । यसअनुसार नीप र आल मिलेर नेपाल बन्न पुगेको हो । यसको शाब्दिक अर्थ उपत्यकामा भएको घर भन्ने बुझिन्छ ।

२. जातिको आधारमा : नेपाल शब्दको उत्पत्तिका सम्बन्धमा विभिन्न जातिहरूको आधारलाई पनि लिइएको छ ।

काठमाडौं उपत्यकाका प्राचीन निवासी नेवार जातिबाट नै नेपाल बन्न पुगेको तर्क पेस गर्नेहरूको विचारमा ‘न्यार्वा’ शब्दबाट नेवार र नेवार शब्दबाट नेपाल शब्दको उत्पत्ति भएको हो । डा. कमलप्रकाश मल्लले न्यार्वालाई अनार्य आभिरजातिका एक समूह मान्नुभएको छ ।

श्री ज्ञानमणि नेपालका विचारमा प्राचीन नीप जातिहरूकै नामबाट यो देशको नाम नेपाल रहन गएको हो । काठमाडौं उपत्यका बसोबासयोग्य भएपछि दक्षिणतर्फबाट पशुपालन गरेर जीविका चलाउने नीपजातिहरू यहाँ बसोबास गर्न थाले । यो जातिलाई नै गोपाल वंशका शासक मानिन्छ । यसरी नै नीपबाट ‘नेप’ र ‘नेप’ मा आल प्रत्यय लागेर नेपाल बनेको हो भन्ने तर्क पेश गरिएको छ । यस तर्कलाई धेरैले समर्थन गरेको पाइन्छ ।

३. स्थलगत आधार: ठाउँ विशेषलाई जनाउने अर्थमा पनि नेपाल शब्दको उत्पत्ति देखाउन खोजिएको छ । यसअनुसार ‘ने’ नामका ऋषिले पालन गरेको ठाउँ हुनाले यस देशको नाम नेपाल अर्थात् ने जोडी पाल हुन गयो भन्ने एक थरीको भनाइ छ । तर ‘ने’ ऋषिको इतिहासमा अन्त कतै चर्चा नभएको हुनाले यस तर्कलाई स्वीकार गर्न सकिँदैन ।

एउटा हिमालको नाम नाङपाला र अर्कोको नाम नुप्ल भएजस्तै नेपाल शब्दको उत्पत्ति पनि यस्तै कुनै ठाउँ विशेषको नामबाट हुन सक्ने विचार डा. जगदीशचन्द्र रेग्मीले गर्नुभएको छ ।

४. धार्मिक आधार: विद्वानहरूले धार्मिक ग्रन्थहरूको आधारमा पनि नेपाल शब्दको उत्पत्ति खोज्ने कोसिस गरेका छन् ।

हिमत्वखण्ड, पशुपति- पुराण, चतुरक महाभारत नाटकमा नेपाल शब्दको उत्पत्तिसम्बन्धी घटनाको बयान गरिएको छ । हिमत्वखण्डअनुसार मरीचि ऋषिका छोरा नेमुनिले कुनै देवीको तपस्या गरेपछि ती देवीको आज्ञाअनुसार उनले यस देशको शासन गरेकाले यसको नाम नेपाल रह्यो । यस धार्मिक घटनालाई पशुपति पुराण र चतुरक महाभारतले पनि समर्थक गरेको छ ।

नेपाल नामको प्राचीनता

नेपाल नाम अत्यन्त प्राचीन मानिन्छ । धेरैजसो प्राचीन ग्रन्थहरूमा नेपालको नाम उल्लेख भएको पाइन्छ । ८०० देखि ६०० इ. पू. मा लेखिएको ‘अथर्व परिशिष्टमा’ नेपालको उल्लेख कामरुप, विदेह, उदुम्बर, अवन्ती, उज्जैन र कैकेय जस्ता देशहरूसँग गरिएको छ । यस ‘अथर्व परिशिष्टमा’ ग्रन्थलाई सम्भवतः नेपाल नाम लेखिएको हालसम्म प्राप्त ग्रन्थहरूमा सबभन्दा पुरानो मानिन्छ । यसबाट अढाई तीन हजार वर्षदेखि नै नेपाल नामको चर्चा भएको पाइन्छ ।

छैटौँ शताब्दी इ. पू. मा आचार्य जैनमित्रद्वारा लिखित मूलसर्वास्तिवाद विनयसङ्ग्रह कम बौद्ध भिक्षुहरू नेपाल आएको कुरा लेखिएको छ ।

चौथो शताब्दी इ.पू.मा लेखिएको कौटिल्यको अर्थशास्त्रमा नेपालको कम्बलको पाटलीपुत्रको बजारमा माग भएको कुरा लेखिएको छ ।

३३५ देखि ३७५ इ. को सम्राट् समुद्र गुप्तको इलाहावाको स्तम्भ अभिलेखमा छिमेकी राज्यका रुपमा नेपालको उल्लेख भएको छ । यसबाट पनि नेपालको स्वतन्त्र अस्तित्वको बोध हुन्छ । चौथो शताब्दीका महान् भारतीय सम्राट् समुद्र गुप्तको अभिलेखमा नेपालको विशेष महत्त्व दिनुबाट पनि यसको प्राचीनता तथा गौरव झल्किन्छ ।

हिन्दु धार्मिक ग्रन्थ पुराणहरूमा पनि नेपालको उल्लेख प्रशस्त मात्रामा भएको छ । स्कन्दपुराण , गरुडपुराण, वराहपुराण इत्यादि पुराणहरूमा पवित्र भूमिका रुपमा नेपालको नाम लेखिएको छ । यसबाहेक केही प्राचीन ज्योतिष ग्रन्थहरूमा पनि नेपालको चर्चा भएको छ । वराहमिहिरद्वारा लेखिएको ज्योतिषशास्त्रमा नेपालमा हुन सक्ने सम्भावित सङ्क्रमणको भविष्यवाणी गरिएको छ । उक्त ज्योतिषशास्त्र छैटौँ शताब्दीतिर लेखिएको अनुमान गरिन्छ ।

महाभारतको वनपर्वमा पनि नेपालको उल्लेख गरिएको छ । यस ग्रन्थमा विषयका रुपमा नेपालको वर्णन गरिएको छ ।

जैन ग्रन्थ आवश्यक सूत्रमा पनि नेपालको विषयमा लेखिएको छ । त्यस ग्रन्थबाट लिच्छविहरू वैशालीबाट नेपाल आएका थिए भन्ने कुरा थाहा पाइन्छ । त्यस जैन ग्रन्थमा आजातशत्रुको आक्रमणबाट बच्न लिच्छविहरू नेपाल पसेका थिए भन्ने कुरा लेखिएको छ । तीन सय शताब्दी इसापूर्व जैन आचार्य भद्रवाहुले नेपाल प्रवेश गरेको कुरा पनि उक्त जैन ग्रन्थबाट थाहा पाइन्छ ।

एघारौँ शताब्दी इ.पू. मा काश्मीरी कवि कल्हणले लेखेको राजतरङगिनीमा काश्मीरका राजा जयापिड र नेपालका राजा अरमुण्डीका बीचमा युद्ध भएको कुरा लेखिएको छ ।

६२९ देखि ६४५ इ. सम्म उत्तरी भारतको भ्रमणमा रहेका चिनियाँ यात्री युवानचाङले लुम्बिनीको यात्रा पनि गरेका थिए । उनले आफ्नो यात्राकालमा भारतमा नेपालका विषयमा सुनेका आधारमा विस्तृत वर्णन गरेका थिए ।

लिच्छविकालका अनेक शिलालेखहरूमा देशका रूपमा नेपालको उल्लेख भएको छ । टिस्टुङको वसन्तदेव र अंशुवर्माको अभिलेखमा नेपालीहरूलाई कल्याण होस् भन्ने कामना गरिएको छ ।

इतिहास शिरोमणि बाबुराम आचार्यका विचारमा नेपालको पुरानो नाम नेपार थियो । उहाँको तर्कमा कौटिल्यको अर्थशास्त्रमा नेपारको ‘र’ लाई बिगारेर ‘ल’ लेखिएको हो किनभने मगधको बोलचालको भाषामा ‘र’ लाई ‘ल’ को प्रयोग गर्ने चलन थियो तर डा. जगदीशचन्द्र रेग्मीले यस तर्कको खण्डन गर्दै “कौटिल्यको अर्थशास्त्रभन्दा प्राचीन ग्रन्थ अथर्वपरिशिष्टमा नेपार नलेखेर नेपाल नै लेखिएको केवल स्वयम्भू पुराण र अन्तिम मल्लकालका एक- दुई रचनामा ‘र’ लेखिएकोमा नेपाललाई ‘नेपार’ भन्न नसकिने राय व्यक्त गर्नुभएको छ ।

उपर्युक्त विचार तथा तर्कहरूबाट नेपाल अति प्राचीन, स्वतन्त्र तथा सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्ने कुरा प्रमाणित भएको छ । यसमा अब विद्वानहरूमा कुनै भ्रम बाँकी रहन गएको छैन ।

एजेन्सी

Comments

Back to top