कोकाकोलाले युरोपका विभिन्न देशबाट आफ्ना केही उत्पादन फिर्ता लियो
कोकाकोलाले बेल्जियम, लक्जमबर्ग र नेदरल्यान्ड्सबाट आफ्ना केही उत्पादन फिर्ता लिएको जनाएको छ ।
क्लोरेट नामको रसायन उच्च मात्रामा पाइएकोले केही उत्पादन फिर्ता लिएको कम्पनीले निकालेको विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर कम्पनीले विज्ञप्तिमा ती उत्पादन असाध्यै कम जोखिम रहेको पनि दाबी गरेको छ ।
कोकाकोलाको अन्तर्राष्ट्रिय बोटलिङ र वितरण निकायको बेल्जियम शाखाका अनुसार कोक, फ्यान्टा, स्प्राइट, ट्रोपिको र मिनेट मेड ब्रान्डका पेय पदार्थहरू फिर्ता लिइएको हो । ती सबै क्यानमा राखिएका उत्पादन हुन् ।
पानी प्रशोधन र खाद्य उत्पादनमा क्लोरिनमा आधारित कीटाणुनाशकको प्रयोग गर्दा क्लोरेट भन्ने रसायन उत्पादन हुन्छ । क्लोरेटको उच्च मात्रायुक्त खानेकुरा खाँदा बालबालिकालाई थाइराइड समस्या हुन सक्छ ।
यस्तै क्लोरेटको उच्च प्रयोगले वाकवाकी लाग्ने, पखाला लाग्ने र शरीरले अक्सिजन सोस्न सक्ने क्षमतामा कमी आउने लगायत समस्याको जोखिम रहेको बेलायती पोषणविद् क्यारन ग्राजेटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
एजेन्सी
Comments